म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने तालिममा सहभागि भएकाहरुलाई व्यवसाय सञ्चालन गर्न उपकरण उपलब्ध गराइएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने र वडा अध्यक्ष यामबहादुर कार्कीले तालिम समापनका क्रममा आइतबार प्रस्तावित ३ वटा उद्योगको उद्घाटन र  गर्नुभयो । १५ जना आवछ ज्यामरुककोट सिर्जनशिल महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषा घर्ति घिमिरेले बताउनुभयो ।

१० जना आवद्ध गणेश फाइवर तथा कम्पोष्ट मल उद्योगलाई केराको रेशा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन १ थान, रेशा निकाल्ने प्रविधि १ थान र भर्भि कम्पोष्ट मल बनाउने प्रबिधि १ थान हस्तान्तरण गरिएको छ ।

खबरामा उद्यमी र कृषकलाई सोमबार देखि २ दिन केराको रेशाबाट धागो र मल बनाउने तालिम प्रदान गरिने भएको छ । केरा खेतीको पकेट क्षेत्र रहेको खबरामा खेर गइरहेको केराको थामलाई सदुपयोग गर्ने प्रयास गरिएको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले बताउनुभयो ।

आठ जना उद्यमी आवद्ध प्रस्तावित जनश्रमीक महिला उद्योगलाई कपडा धुने सरफ उत्पादन गर्ने १ थान मिक्सचर, सरफ, साबुन, ट्वाइलेट क्लिनर, भाडा माग्ने झोल साबुन, हात धुने झोल साबुन र ग्यास क्लिनिर सामग्री १ थान प्रदान गरिएको मूल आमा समूह सञ्जालका अध्यक्ष पवित्रा कार्कीले बताउनुभयो ।

जेठ १३ गतेदेखि सञ्चालन भएको तालिममा सहभागि महिलाहरुले सिकेको सिपलाई सदुपयोग गर्दै आयआर्जनमा अग्रसर भई आत्मनिर्भर बन्नका लागि सामुहिक उद्यम सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष कार्कीले बताउनुभयो । तालिममा बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधिहरु सहभागी भएका थिए ।

आमा समूहलाई परिचालन गरेर महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख लामिछानेले बताउनुभयो ।

“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर २ र १० लाई छनौट गरेको छ ।

वडा नम्बर १० पात्लेखेतमा २० जनाका लागि एक महिने बाजा बजाउने तालिम सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताउनुभयो । पात्लेखेतका महिलाहरुलाई कुटानी, पिसानी मिल पनि उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

गत बर्ष बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुले चप्पल बनाउने सिप सिकेका थिए ।

नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो । तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ । प्रदेश सरकारको सहयोगमा बेनी बजार नजिकै हाडेभिरमा रहेको साझा सुविधा केन्द्रलाई पुन सञ्चालन गर्न लागिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

Leave a Reply