यहाँ रहेका प्राकृतिक स्रोतहरुको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तनहरु देखिन थालेका छन् ।

जिल्लामा रहेका नदी,खोला,वन,पाखोजग्गा,हिमाल,बुकी,खर्क,भीर र खेतीयोग्य जमिनको प्रयोग गरी यहाँका स्थानीय वासिन्दाहरुले आयआर्जन गर्न थालेका छन् ।

कृषि, पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदाको प्रयोग गर्न थालेपछि म्याग्दीका जनता आत्मनिर्भरतातर्फ अग्रसर हुन थालेका हुन् । ‘लाहुरेहरूको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीका बासिन्दा विगत एक दशकयता जल, जमीन, जङ्गललगायत प्राकृतिक सम्पदाको पहिचान र सदुपयोगबाट प्रशस्त आयआर्जन गर्न थालेपछि आत्मनिर्भर बन्दै गएका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

एक दशक अघि यो जिल्ला विप्रेषण र व्यापारबाट मात्र धानिएको थियो । तर, अहिले पर्यटन, साना तथा घरेलु उद्योग, विद्युत्, कृषि तथा वनसम्पदा र जैविक विविधताले समेत समृद्ध बन्दै गएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । गाउँगाउँमा विस्तार भएको व्यावसायिक तरकारी खेती, फलफूल खेती, पशुपालन, जडीबुटी, सहकारी संस्था र लघु तथा घरेलु उद्योगले स्थानीयको आयआर्जन र जीवनशैलीमा परिवर्तन आएको उहाँको भनाइरहेको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ ओटा स्थानीय तहका ४५ ओटा वडा रहेको म्याग्दीका सबैजसो वडाहरुमा व्यावसायिक रूपमा आयआर्जनमूलक व्यवसाय सञ्चालन भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार पालिकाहरुमा व्यावसायिक तरकारी,फलफूल खेती र पशुपालन गर्ने कृषकको संख्या विगत ५ वर्षयता २५ प्रतिशत वृद्धि भएको छ । तीमध्ये अधिकांश युवा छन् । त्यसमा पनि विदेश गएर फर्केकाको बाहुल्य रहेको पाइएको छ ।

त्यसैगरी हाइड्रो हब’ को नाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १९ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् ।

म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट १९ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निर्माणाधीन १९ वटा जलविद्युत् आयोजनाबाट ६७० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणको छ ।

जिल्ल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाका अनुसार कालीगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीबाट समेत विद्युत् उत्पादनका लागि १५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् ।

जिल्लाका कृषकले तरकारी र फलफूल खेतीबाट मात्रै वार्षिक ७० करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । कृषकले सुन्तला विक्रीबाट मात्रै वार्षिक रु २१ करोड भन्दा बढी आम्दानी गर्दै आएका छन् । त्यसैगरी, पशुपालन यहाँका कृषकको आम्दानीको अर्को गतिलो माध्यम बनेको छ । जिल्लामा पशुजन्य उत्पादनमा लागेका एक सय सयजना भन्दा बढी कृषकको वार्षिक आय प्रतिव्यक्ति २० लाखभन्दा बढी रहेको छ ।

जिल्लामा गाई, भैंसी, बाख्रा, भेडा, कुखुरा, बङ्गुर, खरायो र चौंरीपालन व्यावसायिक बन्दै गएको छ । २ सयभन्दा बढी किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् । जिल्लामा वार्षिक ५० करोडभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको विक्री हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्र म्याग्दीले जनाएको छ ।

त्यसैगरी मासुका लागि व्यावसायिक रूपमा कुखुरा, बाख्रा, बङ्गुर पाल्ने कृषकको सङ्ख्या ३ सयभन्दा बढी छ । ती कृषकले वार्षिक रूपमा ५ लाख देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका केन्द्रका प्रमुुख डा. भरत रेग्मीले बताउनुभयो ।

जडीबुटी र पर्यटन पनि म्याग्देली जनताका लागि आयआर्जनको बलियो माध्यम बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा जिल्लामा विस्तार गरिएको टिमुर खेती, मौरीपालन र खरायोपालन पनि यहाँका कृषकको आम्दानीको गतिलो माध्यम बनेको छ ।

खेर गएको जमीन सदुपयोग गरी विस्तार गरिएको टिमुर खेतीबाट तीनओटा पालिकाका दुई सय जनाभन्दा बढी व्यक्तिले राम्रो आम्दानी गरिरहेका छन् । गतवर्ष टिमुर बेचेर जिल्लामा २० लाख रुपैयाँभन्दा बढी भित्रिएको थियो ।

म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा यार्सागुम्बा, पाँचऔंले, सतुवा, जटामसी जस्ता जडीबुटी, भीरमह, शिलाजित जस्ता प्रकृतिमा आश्रित स्रोतबाट पनि यहाँका बासिन्दा मनग्गे आम्दानी गर्न सफल भएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत तथा वन तथा वातावरणका जानकार चन्द्रमणी सापकोटाले बताउनुभयो ।

त्यसैगरी पर्यटन र जलविद्युत्तर्फ पछिल्लो समय म्याग्दीका जनता आकर्षित भएका छन् । राउण्ड अन्नपूर्ण र राउण्ड धवलागिरि क्षेत्रमा समेटिएको म्याग्दीमा घोडेपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरना, तातोपानीका कुण्ड, धवलागिरि, निलगिरि, गुर्जालगायत हिमश्रृङ्खला, १९ प्रजातिका लालीगुराँस फुल्ने जङ्गल, कालीगण्डकी, म्याग्दी र रघुगङ्गाजस्ता जलाधार क्षेत्र, धार्मिक र ऐतिहासिक स्थल प्रशस्त छन् ।

यी क्षेत्रको भ्रमणका लागि वार्षिक ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क छ । पदमार्ग, मोटरबाटो, ग्रामीण क्षेत्र र शहरका होटल, जल, पसल, यातायातलगायत क्षेत्रमा आबद्ध करीब १० हजारभन्दा बढी म्याग्देलीले पर्यटक र पर्यटन व्यवसायबाट लाभ लिएका छन् ।

जिल्लामा उपचार पर्यटन फस्टाउँदो क्रममा छ । यहाँका तातोपानी कुण्डहरूमा नुहाउने र छाला, बाथसम्बन्धी रोग निको पार्ने अभ्यास धेरै पहिलेदेखि हुँदै आएको छ । सिङ्गा तातोपानीमा वर्षेनि दशौं हजार मानिस नुहाउन आउँछन् । उत्तरी म्याग्दीको भुरुङतातोपानीमा मुख्यतः अन्नपूर्ण राउण्ड पदयात्रामा आउने पर्यटकले आनन्द लिने गरेका छन् । यी दुवै तातोपानी कुण्डले जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

जिल्लाका दाना, घार, दग्नाम, दोवा र मुदी लगाएतका ठाउँहरुमा समेत प्राकृतिक तातोपानी कुण्ड छन् । त्यसैगरी उपचारको उद्देश्यले चौंरीको रगत पिउने कार्यले समेत अचेल पर्यटकीय महत्व पाउन थालेको छ ।

हाल म्याग्दीको खोप्रालेकमा हरेक वर्ष साउन र वैशाख महीनामा चौंरीको रगत पिउने मेला लाग्छ । मेलामा २ हजारदेखि ५ हजारसम्म मानिस पुग्ने गरेका छन् ।जिल्लामा सांस्कृतिक महत्वका केही बस्तीहरू ग्रामीण पर्यटकका लागि आकर्षक छन् ।

त्यसैगरी जिल्लाका विभिन्न स्थानमा तामाखानी, शिशाखानी, स्लेट ढुङ्गा र खरी ढुङ्गा खानी छन् । यी खानीको उपयोग भने हुन सकेको छैन । तामा, शिशा, स्लेटजस्ता खनिजको उत्पादन गरी निकासी गर्न सके प्रशस्त आयआर्जन गर्न सकिन्छ । तर, सञ्चालनमा रहेका खानीसमेत सरकारले बन्द गरेका कारण नयाँ खानीको उत्खनन हुन सकेको छैन ।

यस जिल्लाको हिमाली भेगका गुर्जा, मुदी, कुइनेमङ्गले, चिमखोला, नारच्याङलगायतका ठाउँमा यार्सागुम्बाको सङ्कलन हुने गर्छ । पछिल्ला वर्षहरूमा यहाँबाट करौडौं रुपैयाँको यार्सागुम्बा निर्यात हुने गरेको छ ।

यार्सागुम्बाबाहेक सतुवा, पाँचऔंले, नीरमसी, कटुकी, सिलटिमुर, टिम्मुर, बोझो, हर्राे–बर्रो–अमला आदि जडीबुटी, लोक्ता, अल्लोपुवा, लालीगुराँसको जुस, चिमखोले डोको आदि वनपैदावार जिल्लामा उत्पादन तथा सङ्कलन भई निकासी हुने गरेका छन् । यस क्षेत्रमा मात्र ३ सय बढी मानिसहरु संलग्न छन् ।

२०७८ सालको जनगणना अनुसार म्याग्दीमा एक लाख सात हजार तीनसय ७२ जनसंख्या छ । यहाँका करीब ३५ हजार युवायुवती वैदेशिक रोजगारीमा रहेकोमा पछिल्लो समय त्यो सङ्ख्या घट्दो छ । जिल्लाका करीब २० हजार महिला, पुरुष र वैदेशिक रोजगारीबाट फर्केकाहरू व्यावसायिक आयआर्जनमा लागेका छन् भने व्यापार व्यवसायतर्फ करीब आठ हजार संलग्न रहेको पाइएको छ । कुल जनसङ्ख्याको ७ प्रतिशत म्याग्देली बसाइसराइ गरी बाहिर जाने गरेको तथ्याङ्क छ ।

Leave a Reply