बेनी नगरपालिका-९,तोरीपानीका ६० बर्षिय चन्द्रे परियार बेपत्ता छोरीको खोजीमा निस्किदा सधै टोलाइरहेका हुन्छन् । आँखाभरि आँसु पारेकी ५९ बर्षिया भुलमायाँले १९ बर्षिया छोरी मिना परियार बेपत्ता भएको ७ महिना वितिसक्दा अत्तोपत्तो नभएपछि रोइरहेका छन् ।

खोजतलासका लागि आयोजित दबाबमुलक कार्यक्रममा घरको सबै काम छोडेर निस्किने चन्द्रे दम्पत्ती आफन्त र शुभचिन्तक, दलित अधिकारकर्मीहरूले ‘कि सास चाहियो कि लास’ भन्दै नारा लगाउँदा भक्कानिन्छन् ।

घरमा सुतिरहेकी छोरी बेपत्ता भएको महिनौं वितिसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा चन्द्र दम्पत्ती निराश छन् ।

सोमबार म्याग्दीको सदरमुकाम बेनीमा १९औ जातिय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अबसरमा गाउँगाउँबाट सहभागि दलित समुदायले प्लेकार्डमा मिनाको खोजीकार्य गर भन्दै नारा सहित दवाव समेत दिए ।

घरबाटै गर्भवति अवस्थामा हराएकी मिनाको अत्तोपत्तो नहुदाँ पनि जिल्लामा सरोकारवाला निकाय, महिला अधिकारकर्मी, मानवअधिकारकर्मीहरूको ध्यानार्कषण नहुदाँ झनै पीडित परिवार झनै निराश छन् ।

अनेक दुःख, पीडाका बिच हुर्काएकी छोरी मिनालाई गाउँघर, खोलाका किनार सबै तिर खोज–तलास गरेपनि जिवित मृत केही फेला नपारेपछि खोजीका लागि ७ महिनासम्म परियार दम्पत्तीले हारगुहार गरिरहेका छन् । मिना बेपत्ता हुदाँ ६ महिनाको गर्भ थियो भन्ने प्रेमीसँगकोे फेसबुक च्याटबाट पुष्टी हुन्छ । बि.स २०८० साल पुस १६ गते राती घरबाटै बेपत्ता भएकी परियारको अहिलेसम्म अत्तोपत्तो छैन ।

बेपत्ता भएको दिनको राती ११ बजेसम्म स्थानीय यूवा राम खत्रीसँगै रहेको तथ्य फेला परेपनि त्यस बाहेक छोरी कहाँ र कुन अवस्था छिन् भन्ने बारेमा परियार दम्पत्ती बेखवर छन् ।

छोरीसँग प्रेम सम्बन्धमा रहेको प्रमाणसहित प्रहरीमा उजुरी गरेपछि पक्राउ परेका स्थानीय यूवा खत्रीलाई जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको अवस्थामा पनि जिवित वा मृत्यु भएको बारेमा केही पत्ता नलागेपछि परियार दम्पत्ती आँसु झादैं छोरीको खोजीमा अपिल गरिरहेका छन् ।

अभियुक्त खत्रीले प्रेम सम्बन्ध र यौनसम्पर्क राखेको प्रहरी र अदालतमा समेत स्वीकार गरेका थिए । ‘छोरीलाई गायब बनाएदेखि नै भोक–निन्द्रा हराएको छ,अझैपनि छोरी फर्किने आसमा दबाब दिन बेनी आएको छु’चन्दे्र परियारले भने । घरमा सुतिरहेको अवस्थामा एक्कासी बेपत्ता भएको ७ महिनासम्म नफर्किंदा अनेक सोच्न बाध्य भएको भाउजु कमला बर्देवा नेपालीले बताइन् ।

‘मिलेमतोमा घटना घटाइएको छ,न्याय नपाएपछि बाध्य भएर सडकमा आन्दोलन गर्न परेको छ’ कमलाले भनिन् । बेपत्ता परियार र अभियुक्त खत्री बिच सामाजिक सञ्जालमा भएको कुराकानी, महिनाको गर्भ रहेको, भागेर भारत जाने, खेत जोत्ने बेलामा भएको चिनजान,आफ्नो शाररीक सम्बन्ध भएको र चिनजानका बारेमा खुलेपनि बेपत्ता गराएको भन्ने अभियुक्त खत्रीले स्वीकार गरेका छैनन् ।

अभियुक्त खत्रीलाई मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने काम गर्ने मुख्य कसुरदारलाई १५ बर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना भई पिडित पक्षलाई क्षतीपूर्तीको माग गरिएको छ । बेपत्ता मिनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको बैसरी आसपासका क्षेत्रमा देखिएको थियो ।

Leave a Reply