म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले ५१ औं विश्व वातावरण दिवसको अवसरमा वातावरणमैत्री समाज निर्माणका लागि घरदेखि विद्यालयसम्म गर्नुपर्ने कार्यका बारेमा विद्यार्थीलाई सचेतनामु्लक अभियान सञ्चालन गरेको छ ।

दिवसको अवसरमा विद्यार्थीलाई वातावरणमैत्री गतिविधिका बारेमा जानकारी तथा प्रयोगात्मक अभ्यासका लागि विद्यालयमा गमलामा फूल रोपिएको प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।

‘मानवमैत्री वातावरण बनाउन खेल्नुपर्ने भूमिकाका बारेमा विद्यार्थीलाई जानकारी गराइयो, हरेक बर्ष विविध कार्यक्रम गर्ने गरिएको छ’ प्रिन्सिपल सुबेदीले भन्नुभयो । विद्यालयमा रहेको इको क्लवद्धारा विद्यालयमा समुह विभाजन गरी प्रति समुहमा तीन सदस्यद्धारा एउटा गमलामा फुल रोपेका थिए ।

विद्यालयले विद्यार्थीलाई सुन्दर वातावरण बनाउन, प्रदुषणमुक्त बनाउने, घरबाट निस्किदा बाटोमा पलाष्टिकको भेटेमा संकलन गरी नजिकैको डस्बिनमा फाल्ने, फोहोरमैला फाल्दै गरेको अवस्थामा सचेत गराउने,हरेक दिन गर्नुपर्ने कामका बारेमा समेत जानकारी गराएको अतिरिक्त क्रियाकलाप संयोजक रामप्रसाद सुबेदीको भनाई छ । विद्यालयमा दिवसकै अवसरमा विद्यार्थीले १ सय ५० गमलामा फुल रोपेका थिए ।

विगतमा बर्षमा वातावरण दिवसकै अवसरमा फोहोर संकलन गर्ने सरसफाइकर्मीहरूलाई सम्मान, कालीगण्डकी करिडार सरसफाइ, वृक्षरोपणलगायतका कार्यक्रम गरी मनाउँदै आएको विद्यालयले आगामी दिनमा समेत थप रचनात्मक कार्य गर्ने जनाएको छ । कार्यक्रममा विद्यालयमा प्राज्ञिक सल्लाहकार प्रेम जिसीलगायतको उपस्थिति रहेको थियो ।

‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दिवस विश्वभर मनाइँदै छ। जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्व दिइएको छ।

यसैगरी स्वस्थ्य पृथ्वीका लागि मलिलो माटो, स्वस्थ पानी तथा रुखबिरुवाको उत्तिकै महत्त्व रहेको विषयलाई यस वर्ष महत्व दिइएकोछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ।

Leave a Reply