विश्व वातावरण दिवसको अवसरमा बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विश्व वातावरण दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सहित खानेपानीको ट्यांकी आसपासका क्षेत्रमा सरसफाई गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको खानेपानी संस्थाको बराहपाखो सामुदायिक बनमा रहेको खानेपानीका ट्यांकी सहितको संरचनाहरू आसपासमा थुप्रिएको फोहोर संकलन तथा बिर्सजन गरिएको छ। सामुदायिक बन क्षेत्रभित्र रहेकाले वनमा पतिङ्गर सोहोरेर सरसफाई गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरीले टंकी आसपासका क्षेत्रमा नियमित सरसफाई सहित थप तारबार, सिसीक्यामेरा समेत जडान गरिने बताउँदै सल्लाको बोट भएकाले पातपतिङ्गर संकलन हुदाँ डढेलोको जोखिमलाई समेत मध्यनजर गरी नियमित सरसफाईको क्यालेन्डर बनाउने बताउनुभयो ।

सरसफाई कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सुवासकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष माधबप्रसाद रेग्मी, सञ्चालनक समितिका सदस्य, खानेपानी सुरक्षा समितिका सदस्य, बराहपाखो सामुदायिक बन उपभोक्ता संस्थाका सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशबप्रसाद रेग्मीले गर्नुभएको थियो । बेनी खानेपानीले मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको संरचना र उपकरणको प्रयोग गरेको छ ।

खानेपानी संस्थामार्फत बेनीबजार क्षेत्रका ११ सय १४ घरधुरीमा धारा जडान गरिएको छ। हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यसबर्ष ‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ।

Leave a Reply