म्याग्दीका ४२ सय ५२ बालबालिकाले लगाए पोलियो खोप

0

म्याग्दीमा ४२ सयभन्दा बढी बालबालिकाले पोलियो विरुद्धको खोप लगाएका छन् । गएको जेठ १३ देखि १९ गतेसम्म म्याग्दीको १ सय ३९ विद्यालय र खोप केन्द्रमा सञ्चालित खोप अभियानमा ४२ सय ५२ जनाले खोप लगाएकोे खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए ।

कुल ४३ सय ६२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा विद्यालयले दिएको तथ्याङ्क त्रुटी, मदरासामा पढ्ने विद्यार्थीको नियमित पढ्नेमा संख्या देखिएकाले लक्ष्यभन्दा १ सय १० जना बालबालिका कमी देखिएको खोप सुपरभाइजर चौधरीको भनाई छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइएको थियो । बेनी नगरपालिका र पाँच गाउँपालिकाको १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘विद्यालयको तथ्याङ्क अनुसारको विद्यार्थी भेटिएन, थोरै विद्यार्थी भएकामा पनि धेरै संख्या देखाएको पाइयो’ खोप अभियानमा सक्रिय एक स्वास्थ्यकर्मीले भने । विद्यालयलाई सरकारले दिने दिवा खाजामा फाइदा लिन र अन्य प्रयोजनका लागि संख्या बढाउने गरेको गुनासो आउने गरेको थियो ।

पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छ ।

Leave a Reply