म्याग्दीको बेनी नगरपालिका-७,बैंकरोडकी महिला उद्यमी सिर्जना श्रेष्ठले घरमै उत्पादन गरेको पूजापाठ गर्दा प्रयोग हुने अर्गानिक धूप देशका ठूला सहर र विदेशसम्म पठाइरहनुभएको छ । दैनिक बाटेको धूप बनाउँन ब्यस्त श्रेष्ठले स्थानीय, राष्ट्रिय र विदेशमा रहेका नेपालीलाई पूजापाठमा प्रयोग गर्ने गरी धूप बिक्री गरिरहनुभएको छ ।

नेपाली र भारतीय बजारबाट खपत हुने अगरबत्ती, सिन्के धूपको धुवाँ हानीकारक हुने जानकारी पाएकाहरूले नेपाली कागज लगायतका अर्गानिक साम्रागीको प्रयोग गरी बनाउन सकिने धूपको प्रयोग गर्ने गरेका छन् ।

‘अहिले सिन्के धूपको प्रयोग छोडेर अर्गानिक धूपको प्रयोग ह्वात्तै बढेको छ, मैले माग अनुसार उत्पादन गर्न सकेको छैन,अहिले विदेशमा राम्रो मुल्यमा बिक्री भइरहेको छ’ श्रेष्ठले भन्नुभयो । पहिलोपटक यूके पठाएको धूप राम्रो लागेपछि थप माग आएको बताउँदै केही उद्यमीबाट समेत लिएर ग्राहकलाई दिने गरेको श्रेष्ठको भनाई छ ।

बेनी नगरकार्यपालिका सदस्य समेत रहनुभएकी श्रेष्ठले धुवाँ हानीकारक रहेको विशेषज्ञहरुको भनाईले समेत अहिले अर्गानिक धूपको प्रयोग ह्वात्तै बढेको बताउनुभयो । घरमा उत्पादन गर्नेदेखि विभिन्न तालिममा पुगेर प्रशिक्षण दिने काममा ब्यस्त श्रेष्ठले अहिलेसम्म तालिम दिएका महिलाहरूबाट उत्पादन भएको धूपलाई समेत बजारमा बिक्री गर्न सहजीकरण गरिरहनुभएको छ ।

सिन्के धूपबाट निस्कने धुवाँ,लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक देखिएको अवस्थामा सर्वसाधारणलाई जानकारी नभएकाले तालिममा सहभागि महिलालाई समेत धूपको महत्वका बारेमा जानकारी दिने र बिक्रीका लागि समेत ग्राहकको खोजी गरिदिने गरेको प्रशिक्षक समेत रहनुभएकी श्रेष्ठको भनाई छ ।

‘लागत र दुःख कम, उत्पादन र आम्दानी धेरै हुन्छ ’श्रेष्ठले भन्नुभयो । जिल्लामा स्थानीय तह, विभिन्न संघसंस्थाले तालिम सञ्चालन गरेपनि प्राविधिक सहयोगको कमी, र बजारीकरणमा प्रयाप्त सहयोग नहुदाँ घरायसी प्रयोजनका लागि मात्रै बनाउने गरिएको छ ।

Leave a Reply