उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नागीमा सञ्चालित हिमाञ्चल माध्यमिक विद्यालयमा आज (शुक्रवार) अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई अभिमुखीकरण गराउनुको साथै प्रतिबद्धता जाहेर गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण गरिएको छ । कार्यक्रमको उद्घाटन तथा प्रतिबद्धता जाहेर गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बालमैत्री स्थानीय शासन घोषणा अभियानलाई सफल बनाउन सम्बन्धित सरोकारवाला निकाय सबैले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पुनले बालबालिकाहरुले पूर्ण रुपमा अधिकारको उपयोग गर्ने वातावरण बनाउन विद्यालय, योजना निर्माण र उपभोक्ता समिति गठन तथा स्थानीय संघसंस्था सबै क्षेत्रमा समान सहभागीको अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले २०८२ सालभित्र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न वडास्तरमा सञ्चालित अभियान प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्य देवकुमारी पुनले बालमैत्री स्थानीय शासन घोषणा गर्न सूचकहरु पूरा भए नभएको तथा गाउँपालिकाले बनाएको आचारसंहिताको पालना गर्न अनुरोधसहित अनुगमन गरिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्खजित शेरपुजाको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको कार्यसमिति सदस्य मोहन बानियाँले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सदस्य एवं प्रमुख प्रशिक्षक साहिल अन्सारीले बालअधिकार, बाल अधिकारका सिद्धान्त, संवैधानिक व्यवस्था र बालमैत्री स्थानीय शासनका सूचकहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सामाजिक विकास कार्यालयका लेखा प्रमुख भविलाल शर्माले बालमैत्री स्थानीय शासन घोषणा गर्दा स्थानीय तह, संघसंस्था, अभिभावक र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिता र मिलन म्याग्दीका अध्यक्ष बिटालुले बालविवाह सचेतीकरण बारेमा सहजीकरण गर्नुभएको थियो ।

स्थानीय तह तथा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बाल अधिकारका चार आयामहरुका विभिन्न ५१ वटा सूचकहरुको सर्वेक्षण गरी अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ राम्चेले बालमैत्री स्थानीय शासन स्थितिपत्र–२०८० प्रकाशन गरेको छ । सो स्थितिपत्रअनुसार अधिकांश सूचकहरु पूरा भएको र नभएका सूचकहरु पूरा गरी २०८२ सालको चैत मसान्तभित्र वडा र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यक्रममा वडाबाट आवश्यक सहयोग गर्ने र गराउने कार्यमा गाउँपालिकाबाट जारी नीति, नियम तथा आचारसंहिताप्रति स्थानीय सरोकारवालाबाट सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो ।

Leave a Reply