नेपाली समाजमा आमाको बारेमा एउटा प्रचलित उखान छ,‘अरूको लाख र आमाको काख’ । आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । छोरो अर्थात् सन्तानहरू निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । आमा शब्द सबैको लागि अत्यन्त प्यारो र ममतामयी शब्द हो । दुःखमा सबैको जिब्रोमा झुण्डिने शब्द पनि हो आमा ।

आमाको सन्तानप्रतिको स्नेह,करुणा र दुःखलाई संसारबाट प्रदान गरिने कुनै पनि पुरस्कारासँग तुलना गर्न मिल्दैन । तर, यसको ठीक विपरत म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङ जेवाङ घर भई हाल पोखराको हेम्जामा बस्ने नविन विक र निरमायाँ विक यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ । समाजमा जन्मदिने आमाबुबा यस्ता निर्दयी पनि हुन्छन् भन्ने उदाहरण नविन र निरमायाँ बनेका छन् ।

गएको बैशाख १६ गते निरमायाँ विक छोराछोरी विद्यालय गएको मौका छोपी घरबाट बेपत्ता भइन् । ९ बर्षका छोरा निर्मल र ११ बर्षिया छोरी मेलिना विकसँग अघिल्लो राती एउटै बिस्तारामा सुतेकी निरमायाँ बेपत्ता भएको पनि डेढ महिना वितिसक्यो।

आमाको काखमा गुटमुटिने निर्मल र मेलिना अहिले आमाको खोजीमा भक्कानिन्छन् । एकबर्ष अगाडी बुबा नविन विक सम्पर्कविहिन भएपछि खोजीकार्यमा लागेकी निरमायाँ आफैंले जन्माएका दुई छोराछोरीलाई चटक्कै छोडेर गएपछि अलपत्र गरेका छन् ।

म्याग्दीकै धवलागिरी गाउँपालिका–४, खिवाङमा मावली भएकाले अहिले हेम्जामा आफन्तले केही समयका लागि निर्मल र मेलिनालाई संरक्षण दिएको पत्रकार सुरेश हमालले बेनीअनलाइनलाई बताए । ‘उनीहरु आमाको खोजीमा रुदैं बसेका छन्, त्यहाँ पुग्ने सबैका आँखा रसाउँछ’ पत्रकार हमालले भने ।

आमाले छोडेर गएपछि अहिले मेलिनाले एकाविहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने,भाईलाई सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी छन्। पोखरा महानगरपालिकास्थित हेम्जाको एक विद्यालयमा पढ्न मेलिनाको अगाडी आमाबुबाको कुरा गर्दा भक्कानिन्छिन् ।

आँखामा आशु टिलपिल गरिरहेकी मेलिनाले आमाको खोजी गरिदिन अपिल समेत गरेकी छन् । यसैबीच निर्मल र मेलिनाको शिक्षादीक्षाका लागि अमेरिकामा बस्ने सामाजिक संस्था इशा फाउण्डेशका संस्थापक एवम् समाजसेवी सबी थापा र इन्द्र थापाले चासो देखाएका छन् ।

Leave a Reply