मिनाको खोजीका लागि परिवारको टोली काठमाण्डौमा

गर्भवती अवस्थामा विगत ६ महिनादेखि बेपत्ता बेनी नगरपालिका-९,तोरीपानीकी १९ बर्षिया मिना परियारको खोजीकार्यका लागि पीडित परिवारले राज्यब्यवस्था समितिका सभापति रामहरी खतिवडालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

बेपत्ता मिनाको खोजीकार्यमा सघाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोग समेत माग्दै गृहमन्त्री रबी लामिछाने, प्रहरी प्रमुख बसन्त कुँवर, सिआइबी प्रमुख श्याम ज्ञवाली लगायतको टोलीलाई समेत भेटेर थप अनुसन्धानका लागि अनुरोध गरिएको भाउजु कमला बर्देवा नेपालीले बताइन् ।

काठमाण्डौमा उच्चपदस्थ नेता तथा प्रहरीको टोलीसँग भेटघाट गरेपछि नयाँ तरिकाले अनुसन्धान अगाडी बढ्नेमा आशाबादी रहेको बताइन् । ‘गर्भवीत अवस्थामै बेपत्ता हुदाँ पनि अहिलेसम्म केही अत्तोपत्तो छैन, हामीले न्यायको खोजीका लागि काठमाण्डौ आएका छौ’ मिनाकी भाउजु बर्देवाले भनिन् । उनले लास वा सास जे भएपनि पत्ता लगाउँदै दोषीमाथि कारवाहीको माग मात्रै परिवारको रहेको बताइन् ।

बि.स २०८० साल पुस १६ गते राती घरबाटै बेपत्ता भएकी परियारको अहिलेसम्म अत्तोपत्तो छैन ।बेपत्ता भएको दिनको ११ बजेसम्म स्थानीय यूवा राम खत्रीसँगै रहेको तथ्य फेला परेपनि त्यस बाहेक छोरी कहाँ र कुन अवस्था छिन् भन्ने बारेमा परियार दम्पत्ती बेखवर छन् ।

छोरीसँग प्रेम सम्बन्धमा रहेको प्रमाणसहित प्रहरीमा उजुरी गरेपछि पक्राउ परेका स्थानीय यूवा खत्रीलाई जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको अवस्थामा पनि जिवित वा मृत्यु भएको बारेमा केही पत्ता नलागेपछि अहिले पीडित परिवार न्यायको खोजीमा छन्। बेपत्ता परियार र अभियुक्त खत्री बिच सामाजिक सञ्जालमा भएको कुराकानी, ६ महिनाको गर्भ रहेको, भागेर भारत जाने, खेत जोत्ने बेलामा भएको चिनजान,आफ्नो शाररीक सम्बन्ध भएको र चिनजानका बारेमा खुलेपनि बेपत्ता गराएको भन्ने अभियुक्त खत्रीले स्वीकार गरेका छैनन् ।

अभियुक्त खत्रीलाई मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने काम गर्ने मुख्य कसुरदारलाई १५ बर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना भई पिडित पक्षलाई क्षतीपूर्तीको माग गरिएको छ । बेपत्ता मिनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको बैसरी आसपासका क्षेत्रमा देखिएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता मिनाको खोजीकार्य जारी रहेको जनाएको छ ।

Previous articleनिर्दयी आमाबुबा ! जो छोराछोरीलाई छोडेर बेपत्ता भए
Next articleबेनीमा भूमिगत रुपमा गठन भएको त्यो मगर समाज