---Advertisement---

रोज्जा बोयरलाई डेढ लाख !

On: June 14, 2024 12:26 PM
Follow Us:

बेनी नगरपालिका–३,भकिम्लीका धनबहादुर श्रीषले बोयर बाख्रापालनलाई प्रोत्साहन गर्न मुल्य घटाएर बाख्रापालकलाई बोयर बिक्री गर्ने गरेका छन । डेढबर्ष अगाडीसम्म दुईलाखसम्म बिक्री गर्ने गरेका श्रीषले बाख्रापालक कृषक पलायन हुन थालेपछि बोयर जातको बोकालाई अहिले ४० हजारदेखि डेढलाखसम्म खोरबाटै बिक्री गरेका छन् ।

म्याग्दी जिल्लाका अगुवा बाख्रापालक कृषक श्रीषले स्थानीय तथा सरकारी निकायको गलत निति र कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई प्राथमिकता नदिदाँ बाख्राापालक कृषक धमाधम पलायन हुन थालेको भन्दै मुल्य घटाएर भएपनि कृषकलाई प्रोत्साहन गरेको बताए ।

‘मैले बोयर बाख्रापालनमा लागेका कृषकलाई प्रोत्साहन गर्न मुल्य घटाएर नै बिक्री गरेको छु, अब बाख्रापालक कृषकलाई राज्यका निकायबाट सहयोग नगरे कृषकको खोर रित्तो हुन्छ’ अगुवा कृषक श्रीषले भने । उनले मुल्य घटाएर, बोयर पालन गर्न चाहने कृषकलाई बाख्रा पाल्न दिएर भएपनि आर्कषित गरिरहेको बताए ।

करिब १२ बर्षअगाडी वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका श्रीषले आफ्नो परिचय फरिएपनि बाख्रापालक कृषकलाई अनुदान र प्रोत्साहनका कार्यक्रमहरुमा भने सरकारी निकायको सोचमा कुनै परिवर्तन नआएको गुनासो गरे। उनले कुनै समय बोयर पालनबाट दुई बर्षमा १ करोडभन्दा बढीको बिक्री समेत गरेका थिए । बाख्रापालक कृषकको संख्या ह्वात्तै घट्दा समेत सरोकारवाला निकायले कानमा तेल हालेर बसेजस्तै महसुस भएको अगुवा कृषक श्रीषको भनाई छ ।

खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि गाउँ फर्किएर विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका उनले अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाएका छन् ।

श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका उनले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आएका छन् । श्रीसको फार्मबाट वार्षिक करिब रु १७ लाख बराबरको बोयर बाख्रा बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमा गिरावट आएको उनको गुनसो छ ।

“दुई वर्षअघिसम्म बोयर बोका र पाठीलाई दुई लाखसम्म पथ्र्यो, मैले मेरै फार्मबाट वर्षमा ६० लाखसम्मको कारोबार गरेको थिएँ तर अहिले मूल्य घटेको छ, तर निराश भएको छैन”,श्रीसले भने । श्रीसको फार्ममा अहिले ४० वटा बाख्रा छन् । तीमध्ये पाठा जन्माउने १७ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी छन् ।

फार्मका ३० वटा बोयर बाख्रा म्याग्दी र बाहिरी जिल्लाका कृषकलाई पाल्न दिएका छन् । अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेको उनले बताए । बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीसले तीन जनालाई नियमित रोजगार दिएका छन् ।

व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गरेका उनको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन्। सरकारी निकायबाटै स्रोतकेन्द्रको मान्यता प्राप्त गरेकाले नेपालका विभिन्न जिल्लाबाट बोयर खरिद गर्न घरमै आउने गरेका छन् ।

विदेशबाट फर्किंदा सात लाख ऋण
विदेशबाट काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रूपैयाँ ऋण बोकेर घर फर्किएका श्रीषलाई अहिले लगानीको समस्या छैन। विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न गरेको घरमै गरेको बाख्रापालन अहिले पैसा आउने मूल जस्तै बनेको छ। उनीसँगै छोराछोरीले समेत कमाइ गर्न थालेपछि फार्मको आम्दानीले थप विस्तारमा सहज भएको छ। एउटा छोरा भारतीय सेनामा छन् ।श्रीषले बीउका रूपमा बोएर जातको बाख्रा पालेकाले बोएरको स्रोत केन्द्र समेत बनाएका छन् ।