---Advertisement---

म्याग्दीको ठाडाखानीमा इन्टरनेट सेवा विस्तार

On: June 14, 2024 12:34 PM
Follow Us:

म्याग्दीको दुर्गम गाउँ रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीमा इन्टरनेट सेवा विस्तार गरिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी प्राइम नेटवर्क कम्पनीमार्फत गाउँमा इन्टरनेट सेवा विस्तार गरिएको हो ।
रघुगंगा गाउँपालिकाको छ लाख ५० हजार अनुदान, विदेशमा रहेका ठाडाखानीवासी र स्थानीय आमा समूह,युवा समूहले चन्दा संकलन गरी करिव रु २० लाखको लागतमा गाउँमा ईन्टरनेट सेवा विस्तार गरिएको स्थानीय अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिनुभयो ।

पाखापानी गाउँबाट करिव २ किलोमिटर दुरीमा रहेको गाउँमा ठाडाखानी गाउँमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार भएको उहाँले बताउनुभयो । गाउँपालिकाले उपलव्ध गराएको अनुदानले पाखापानीदेखि ठाडाखानीसम्म तार विछ्याउन पनि नपुगेपछि नपुग रकम सेवा प्रदायक कम्पनि प्राइम नेटवर्कले लगानी गर्नेगरी सम्झौता गरिएको छन्त्यालले बताउनुभयो ।

गाउँमा अप्टिकल फाइबारमार्फत इन्टरनेट सेवा पाउनेभएपछि स्थानीयबासीहरु पनि खुसी भएका छन् । इन्टरनेटको पहुँचबाट टाढा रहेको गाउँमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा सुचारु भएपछि निकै खुसी लागेको रघुगंगा गाउँपालिका ६ ठाडाखानीका वडासदस्य टेकजित छन्त्यालले बताउनुभयो ।

गाउँमा इन्टरनेट सेवा पु¥याउनका लागि स्थानीयवासीहरुले संकलन गरेको रु दुईलाख ५० हजार,कालोसल्लेरी सामुदायिक वन उपभोक्ता समितिले रु एकलाख, हाल हङकङमा रहनुहुने स्थानीय प्रेम बूढाथोकीले रु ५० हजार सहयोग गर्नुभएको पनि अगुवा युवा छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठाडाखानी गाउँमा ईन्टरनेट सेवा पुगेपछि यहाँका ८० घर परिवार लाभान्वित भएका छन् ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।