ट्याक (मार्ग) खुलेको २५ वर्षपछि म्याग्दीकोे रत्नेचौर-भकुण्डे-भकिम्ली नौ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्ने कामले गति लिएको छ ।

अर्थ मन्त्रालयले बजेट पठाउन ढिला गरेका कारण गत पुसदेखि फागुनसम्म करिव तीन महिला सुस्त गतिमा हुँदै आएको सडक स्तरोन्नतिको काम फागुन अन्तिम साता अर्थमन्त्रालयले बजेट पठाएपछि त्यसयता तिब्र रुपमा संचालन भइ अहिलेसम्म ५५ प्रतिशत काम पुरा भएको हो ।

विसं २०५६ मा ट्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो ।
सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनिका संचालक अरुण सेढाइँका अनुसार २०८१ चैत मसान्तसम्म निर्माण सम्पन्न गरीसक्ने सम्झौता अनुसार अहिले काम भइरहेको छ । “सडक स्तरोन्नति तथा कालोपत्रे योजनाको ५५ प्रतिशत काम पुरा भएको छ” ठेकेदार कम्पनिका संचालक सेढाइँले भन्नुभयो “अहिले तीन फेसमा काम भैरहेको छ, ढाँडखर्क,भकुण्डे र तमाने क्षेत्रमा सडक चक्लाउने,पर्खाल लगाउने र नाली बनाउने काम अन्तिम चरणमा पुगेको छ” ।

आगामी पुससम्म स्तरोन्नतिका सम्पूर्ण काम सम्पन्न गरेर माघदेखि कालेपत्रे गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
“सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने सम्झौता भएको हो, निर्धारित समयमा नै सडकको काम सकेर सडक डिभिजन कार्यालयलाई सडक हस्तान्तरण गर्ने योजनका साथ काम गरिरहेका छौँ” सेढाइले भन्नुभयो ।

घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि सकिएको उहाँले बताउनुभयो । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या थियो । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०÷४० करोड विनियोजन गरेको थियो ।

पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ।सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।

 

Leave a Reply