मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दलित नेतृत्व क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय दलित सञ्जालको आयोजनामा तालिम संचालन गरिएको हो । तालिमको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो ।

अध्यक्ष रोकाले विभेदका अवशेषहरु अझै पनि समाजमा बाँकीनै रहेकाले त्यसलाई पूर्ण रुपमा हटाउनका लागि सामाजिक सचेतना आवश्यक रहेको बताउनुभयो ।उहाँले दलित समुदायहरुले आफ्नो मानसिकता, चेतना आनीवानी र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो ।

शैक्षिक र आर्थिक रुपमा समृद्ध बन्नका लागि कुनै न कुनै उत्पादन संग जोडिन पनि उहाँले आग्रह गर्नुभयो । वडा नम्वर २ का अध्यक्ष धन बहादुर खाती क्षेत्री र पालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले दलितहरुलाई प्राप्त हुने विभिन्न अवसरहरुको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दलित अधिकारकर्मी पुस्कर विक र खरमाया विटालुले नेतृत्व र क्षमता विकासको विषयमा प्रशिक्षण दिनुभएको थियो । साथै कार्यक्रमकै अवसरमा पालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत अभिभावक विहिन, विपन्न तथा जेहेन्दार दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।

कार्यक्रम सञ्जालका अध्यक्ष मनकुमार शाहीको अध्यक्षता, सचिव लोक बहादुर किसानको स्वागत र टेक बहादुर किसानको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संचारकर्मी हरिकृष्ण गौतमले दलित समुदायको अवस्थाको बारेमा आफ्नो रिपोर्टिङ अनुभव व्यक्त गर्नुभएको थियो ।

Leave a Reply