म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरस्थित मंगला माविका विद्यार्थीले गरेको तरकारी बारीबाटै बिक्री हुन थालेको छ। कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले पढाइसँगै गरेको तरकारी टनेल र बारीमै पुगेर स्थानीय, अभिभावक र शिक्षकले खरिद गरी लैजाने गरेका छन् ।

करिब २ रोपनी क्षेत्रफलमा तरकारी, फलफूल र च्याउ उत्पादन बिक्रीमा समस्या नभएको विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । विद्यार्थीको उत्पादनलाई बजारको समस्या नभएपछि थप जग्गा ब्यवस्थापन गरी पढाइसँगै उत्पादनमा समेत जोड्ने प्रअ खत्रीको भनाई छ ।

विद्यालयका विद्यार्थीले टनेलमा उत्पादन गरेकोे च्याउ बावियाचौरमै खपत भएको थियो । विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउखेती गरेका छन्। विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ।

गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन्। पहिलोबर्षमै उत्पादन गरिएको च्याउ सहित अन्य तरकारी बिक्री भएपछि खर्च कटाएर विद्यार्थीकै हितमा प्रयोग गरिने विद्यालयले जनाएको छ। विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकामा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन्।

नेपाल सरकारको नमूना विद्यालय मंगला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन्।विद्यालयमा विसं २०७६ मा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ। उक्त धारमा प्रयोगशाला सहायक सहित अनुभवी शिक्षकको दरबन्दी छ।

 

Leave a Reply