म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पर्यटकहरुका लागि खाना र बास बस्न मिल्ने गरि डाइनिङ सहितको पाहुना आश्रय स्थल निर्माण गरेको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ९ लाख र जन श्रमदान १ लाख गरि कुल कुल १० लाख रुपैयाँको लागतमा सो कटेज निर्माण गरिएको हो ।

समुन्द्री सतहदेखि २ हजार ९ सय ६७ मिटरको उचाईमा रहेको चुच्चेखर्कमा बनाईएको उक्त कटेज ३० जना सम्म पर्यटकहरु वास वस्न मिल्ने क्षमताको रहेको छ । काठै काठबाट बनाईएको कटेजलाई टिनले छाईएको छ भने हिउँदयाममा हावा हुरी र हिउँले समेत असर नपु¥याउने गरि स्लोभ आकारमा छानो बनाईएको छ ।

उक्त पर्यटन पूर्वाधार योजनाको बुधबार गाउँपालिकाका उपाध्यक्ष दिवा पुनको नेतृत्वमा अनुगमन गरिएको छ । अनुगमन टोलीमा वडा नम्वर २ का अध्यक्ष ओम फगामी, कार्यालयका योजना अधिकृत हरिकृष्ण आचार्य, इन्जिनियर ईश्वर भण्डारी, वडाका प्राविधिक भुगोल विश्वकर्मा, संचारकर्मी अमित विश्वकर्मा लगायत सहभागी हुनुभएको थियो । टोलीले वडा नम्वर २ मा निर्माण सम्पन्न भएको अन्य योजनाहरुको समेत अनुगमन गरेको थियो ।

उपाध्यक्ष पुनले मुन्द्रा चढाउने डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अनुरुप गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । समुन्द्री सतहदेखि ३ हजार २ सय ४ मिटरको उचाईमा रहेको मुन्द्रा चढाउने डाँडा धार्मिक महत्वको क्षेत्र भएकाले पनि यसको प्रचार प्रसार सहित पूर्वाधार निर्माणले पूर्णता पाएमा आन्तरिक तथा वाह्य पर्यटकहरुको समेत आगमन हुनसक्ने पुनको भनाई थियो ।

मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकास गर्न पुर्बाधार निर्माण गर्न थालिएको अन्नपूर्ण गाउँपालिका वडा नम्वर २ भुरुङ तातोपानीका अध्यक्ष ओम फगामीले बताउनुभयो । उहाँले भन्नुभयो “सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तब्य पहिचान गरेका छौ ।” त्यहाँ पुग्ने पर्यटकलाई सहजताका लागि मान्द्रेढुङ्गा, भूमेथान हुँदै मुन्द्रा चढाउने डाँडा सम्म जोड्ने पदमार्ग गाउँपालिकाले यसअघिनै निर्माण गरिसकेको छ ।

उक्त क्षेत्रमा खानेपानी, शौचालय निर्माणका साथै पदमार्ग अन्तर्गत ठाउँ ठाउँमा पर्यटन सूचना वोर्ड समेत राख्ने गरि आगामी वर्षको योजना संचालन गरिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

२०८० चैत्र महिनादेखि सुरु भएको योजनाको काम २०८१ जेठ २५ गते सम्पन्न गरिएको मुन्द्रा चढाउने पर्यटन क्षेत्र पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु फगामीले बताउनुभयो । मजदुरहरु जंगलमै अस्थाई टहरा बनाएर वसेका थिए ।

मान्द्रेढुङ्गा देखि पाँच घण्टा पैदल हिडेपछि मुन्द्रा चढाउने डाँडामा पुगिन्छ । यो बाटो भएर धौलागिरी आइसफल र आधार शिविर जान सकिन्छ । यहाँबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लु लगायत दर्जनभन्दा बढी हिमशृङखला, सुर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, गँुरास सहितका बनजंगलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

Leave a Reply