म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा यूवापुस्तालाई लक्षित गरी ५ दिने पुख्यौली नाच तालिम सञ्चालन गरिएको छ । पुख्यौली नाचलाई आधुनिकीरण र व्यवसायीकरण गर्न क्षमता विकास तालिम दिइएको हो । वडा कार्यालयको आर्थिक सहयोगमा स्कुले विद्यार्थी सहित यूवालाई तालिम दिइएको वडा सचिव मनकुमार गर्बुजाले बताए ।

पछिल्लो नयाँ पुस्तामा पुख्यौली नाचको चासो कम देखिएपछि लोप हुने सम्भावनालाई मध्यनजर गरी सञ्चालन गरिएको तालिममा विद्यालयका विद्यार्थीको समेत सक्रिय सहभागिता रहेको थियो ।

‘पुख्यौली गाउँदै, नाच्दै गर्दा बेग्लै आनन्द र रमाइलो छ, अब स्कुले बालबालिकालाई नै केन्द्रित गरी बुढापाकाबाट अनुभव हस्तान्तरणका अभियान सञ्चालन गर्नेछौ’ वडा अध्यक्ष दिलिपकुमार गर्बुजाले भने । आगामी दिनमा संस्कृतीको जोगाउने र पुराना कला र संस्कृति जोगाउन नयाँ कार्यक्रम लिएर आउने अध्यक्ष गर्बुजाको भनाई छ ।

पुख्यौलीका अभियान्ता लालबहादुर पुनले तालिम दिएका थिए । पुख्यौली नृत्यमा मादले र मारुनीको भूमिका महत्वपूर्ण हुन्छ। एउटा गीतको टुक्का निकालेपछि अरूले त्यसलाई पछ्याउँदै गाइन्छ। पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य पनि भनिन्छ ।

नाचको सुरुमा सरस्वती जगाइन्छ, त्यतिबेला केहीलाई सरस्वती जाग्ने हुँदा काँम्नेसमेत हुन्छ । गीतमार्फत राम–लक्षणका वाणीहरू र सरस्वतीलाई सम्मानपछि काम्ने हराउँदै जान्छ । मेला महोत्सवसँगै विवाह, व्रतबन्धलगायतका शुभकार्यमा यो नृत्य प्रस्तुत गर्ने गरिन्छ । पुख्यौली र थाली नाच म्याग्दीको पहिचान हो ।

 

Leave a Reply