म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ सडक विस्तार भएसँगै यात्रा छोटिएको छ । मंगला गाउँपालिका–१ कुहुँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माणसँगै करिब २ किलोमिटर सडक छोटिएको छ । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केसम्म जोड्ने ४ किलोमिटर सडकको मार्ग (ट्याक) निर्माण भएको कुहुँका स्थानीय यूवा रविन पुनले बताए ।

मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजन गरेको २२ लाख बजेटबाट भिरकटेरा देखि टोड्के सम्म सडकको ट्याक खोलिएको छ भने थप संरचनाहरु समेत निर्माणकार्य गरिने छ । सडकको घुम्ति सुधार गर्ने, ढल व्यवस्थापन गर्ने नाली र ढलान लगायतका संरचना बनाउने काम भइरहेको मंगला गाउँपालिका–१ का वडा अध्यक्ष एकजित रोकाले बताए ।

सडकलाई थप ब्यवस्थित र आसपासका क्षेत्रमा जोखिम न्यूनिकरण गर्ने गरी संरचना बनाइरहेको बताए । यो सँगै पर्यटकीयस्थल टोड्के, मालिकाधुरी तथा धौलागिरी सेन्चुरी पदमार्ग क्षेत्रमा घुम्न आउने पर्यटकलाई थप सहज भएको छ । यो सडकबाट कुहुँ, तुसारेपानी, हिदी, दुखु, थाईवाङ, सल्यान, भरजुला, झिँ, पाखापानी, कोटगाउँ, ठाडाखानीका बासिन्दाका साथै टोड्के जाने आउने पर्यटकलाई सुविधा पुगेको छ । सबै प्रकारका सवारीसाधन आवतजावत गर्ने गरी ७ मिटर फराकिलो सडक निर्माण गरिएको छ ।

यो सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले रु. १ करोड बिनियोजन समेत गरिएको छ । यसअगाडी यसअघि मंगला गाउँपालिका–१ पूर्णगाउँ, बेनी नगरपालिका–१० वाखेत र रघुगंगा गाउँपालिका–५ झिँ हुदै टोड्केलाई सडक सञ्जालले जोडिएको थियो।यो सडक निर्माणको क्रममा पूर्णगाउँका बासिन्दाले पहिरोका कारण बस्तीमा असर गर्ने भन्दै विरोध गरेका थिए ।

छुट्टै वडाको माग गरेर हालै गाउँपालिकामा निवेदन दिएका पूर्णगाउँबासीले कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नती नगरी नयाँ सडक निर्माण भएकोमा गुनासो गरेका छन् । दुई बस्तीको विवादका बिच सडक विस्तारमा सहमति भएपछि बाँकी काम सम्पन्न गरिएको थियो । पर्यटकीयस्थल टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान मन्दिर समेत छ । स्वर्गद्वारी आश्रम, प्यूठानको शाखाबाट धार्मिक पर्यटक समेत आउने गरेका छन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।

 

Leave a Reply