म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका भित्र शुन्य होम डेलिभरीको अभियानलाई प्रभावकारी बनाउन रघुगंगा–६, रायखोर र वडा नं ७ चिमखोलामा बर्थिङ्घ सेन्टर स्थापना गरिने भएको छ ।

गाउँपालिकामा रहेका सामुदायिक स्वास्थ्य इकाईमा अक्सिजन ब्यवस्थापन,नसर्ने रोगका बिरामीलाई उपचार, निशुल्क स्वास्थ्य विमा,स्वास्थ्य क्षेत्रमा जनशक्ती ब्यवस्थापन, कृषि र पशुपालनमा अनुदान सहित प्रोत्साहन, औषधीजन्य प्रयोजनका लागि जडिबुटी तथा गाँजा खेती गर्न कृषकलाई प्रोत्साहन गरिने निति लिइएको छ।

गाउँपालिकाले सुन्य दरबन्दी रहेका विद्यालयमा दरबन्दी र बालविकासका सहजकर्तालाई पुनरावलोकन गरिने छ । गाउँपालिकाले ग्रामिण पर्यटन पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिदैं धार्मिक क्षेत्र रिखारसम्म पुग्न सहज बनाउने जनाएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा पालिकाभित्र निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनालाई सडक तथा समुदायस्तरमा आवश्यक संरचना बनाउन समन्वय गर्ने उल्लेख छ। सोमबार सम्पन्न भएको गाउँसभामा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट पारित गरेको हो ।

गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल पछि पारित भएको छ ।बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान रु ७ करोड ८२ लाख, राजश्व बाँडफाँडबाट ९ करोड २२ लाख, सशर्त अनुदान २१ करोड ६८ लाख, विशेष अनुदान१ करोड २५ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ९४ लाख ५७ हजार, राजश्व बाँडफाँडबाट १ करोड १४ लाख ३८ हजार, समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख बजेटलाई समावेश गरिएको छ ।

त्यसैगरि बजेटमा आन्तरिक राजश्व तर्फ १ करोड ४५ लाख र चालु अािर्थक बर्षमा खर्च हुन बाँकी रहन आउने ४ करोड बजेटलाई समेत स्रोत अनुमान गरिएको छ ।

गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न २ करोड, सडक मर्मत सम्भारमा ४० लाख, प्रदेश सम्पुरक योजना अन्तरगत पाखापानी रायखोर घ्यासीखर्क सडकलाई ४० लाख, विपद् व्यवस्थापन योजनामा ४० लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार र आयआर्जन बृद्धि हुने क्षेत्रलाई समेटर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

Leave a Reply