बाग्लुङ र म्याग्दी दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडकमा बल्ल कालोपत्र हुँदैछ । बाग्लुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र भइरहेको हो ।

पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष काम गरेको हो । यो वर्ष सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वधार विकास कार्यालय बाग्लुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिनुभयो ।

२०७६ सालमा कालोपत्रको जिम्मेवारी पाएको निर्माण कम्पनीले २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने भए पनि यस वर्ष बल्ल कालोपत्र गरेको उहाँले बताउनुभयो । हटिया बजारबाट ताराखोला गाउँपालिका–३ घुस्मेली बजारसम्म कालोपत्र गर्ने लक्ष्य लिए पनि जमधारासम्म मात्रै काम गरेको उहाँले जानकारी दिनुभयो । कम्पनीले २८ करोडमा जिम्मा लिएको थियो ।

गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले १९ वर्ष अगाडि स्थानीयले चन्दा उठाएर निर्माण गरेको सडक अहिलेसम्म कालोपत्र हुन नसक्दा समस्या भएको बताउनुभयो । यस वर्ष थोरै भए पनि कालोपत्र हुँदा गलकोट र ताराखोलाका तल्लो क्षेत्रका नागरिकलाई सहज हुने उहाँको भनाई छ ।

Leave a Reply