राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।१८६ जनाले ४ जीपीए ल्याएका छन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो । onlinekhabar

Leave a Reply