default

असारको दोस्रो सातासम्म म्याग्दीमा जम्मा १८ प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसारधान उत्पादन हुने ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमध्ये सिचाँईको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । आकाशे पानीको भर पर्ने क्षेत्रमा पछिल्ला केहीदिन यता भइरहेको बर्षाले समेत राहत मिलेको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिब बाँस्तोलाले बताए ।

‘माथिल्लो भेगमा धान रोपाइँ भैरहेको भएपनि तल्लो भेगमा अझै धान रोपाइँले गति लिएको छैन,‘नियमित बर्षासँगै मुल फुट्न थालेपछि किसानलाई अब सहज हुन्छ’ प्रमुख बाँस्तोलाले भने । वेशीका फाँटका खेतमा अझै पनि मकै खेती समेत भएकाले धान रोपाइँमा केहि ढिलाइ भएको छ । जिल्लाको अधिकाँश कृषकहरु सिचाई सुविधाको अभाबको कारण खेत रोपाइँको लागि बर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ । मुल फुट्ने गरि बर्षा नभएसम्म रोपाइँ सुचारु गर्न नसकिने किसानहरुको भनाई छ ।

जिल्लामा जम्मा १ हजार ६ सय ८० हेक्टर जमिनमा मात्रै बाह्रैमहिना सिंचाइको पहुँच पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको उच्च पहाडी केही भाग बाहेक अधिकाँश क्षेत्रमा धान खेती हुँदै आएको छ । जिल्लाको ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा धान रोपाइँ हुने गरेको छ ।

नेपालमा मनसुन सुरु भए पनि म्याग्दीमा हालसम्म पर्याप्त पानी परेको छैन । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातको धानखेती हुने गर्छ। लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेतीसमेत हुन्छ।

Leave a Reply