शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो । दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले रातोपाटीलाई जानकारी दिए ।

Adv

‘आज एनजी आएका सबै विद्यार्थीहरुलाई मौका परीक्षा दिन पाउने निर्णय भएको छ । यदि एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहाना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन् भनेर मन्त्रीस्तरीय निर्णयबाट यो मौका दिइएको हो’ प्रवक्ता दाहालले भने ।

एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका– २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय समेत गरेको दाहालले बताए ।

Leave a Reply