बेनी नगरपालिका वडा नं ४ डाँडाखेतस्थित बालमन्दिर आधारभुत विद्यालयका २० जना विपन्न विद्यार्थीलाई गौमती विकास अक्षय कोषले स्टेशनरी सहयोग गरेको छ । विद्यालयको सिफारिसमा अति विपन्न विद्यार्थीलाई बर्षभरी आवश्यक पर्ने करिब ५० हजार बराबरको स्टेशनरी सहयोगको प्रतिबद्धता अनुसार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।
उक्त सहयोग कोषका अध्यक्ष एवम् वडा सदस्य सन्दिर केसी, विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेल लगायतले वितरण गर्नुभएको थियो ।

कोषका अध्यक्ष केसीले खेलकुद, शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सक्रिय रहेको कोषमार्फत अति विपन्न बालबालिकालाई लक्षित गरी सहयोग अभियानलाई निरन्तरता दिने बताउनुभयो । सोही अवसरमा विद्यालयका प्रअ पौडेलले अति विपन्न बालबालिकालाई आवश्यक पर्ने स्टेशनरी सहितका शैक्षिक साम्रागीको अभावले पठनपाठन नै प्रभावित हुने गरेको बताउनुभयो ।

उहाँले अति विपन्न बालबालिकाको सहजताका लागि विद्यालयमा विगतदेखि नै सहयोग हुने गरेको बताउनुभयो । गौमती विकास अक्षय कोषले म्याग्दी जिल्लामा माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता, धौलागिरी मावि सिंगामा अक्षय कोषका साथै नियमित कार्यहरु गर्ने गरेको छ ।

Leave a Reply