२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा नेकपा एमालेले किसानको खेतमा गएर सामुहिक धान रोपाई गरेको छ । शनिबार पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ सिम्कुनामा नेकपा एमालेका एमाले नेता कार्यकर्ताले एक बृद्धको खेतमा धान रोपाइ गरेका हुन् ।

जनशक्ति अभाव झेल्नुभएका ७० बर्षिय कृषक खड्क बहादुर रोकाको करिव १० मूरी धान फल्ने खेत रोपाइ गरिएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले बताउनुभयो ।

‘कृषकको खेतमै पुगेर रोपाइमा सहभागी भएका छौ, किसानका हरेक समस्या समाधान गर्न हामी प्रतिबद्ध छौ’अध्यक्ष सुबेदीले भन्नुभयो। ग्रामिण क्षेत्रमा कृषि पेशामा संलग्न भएका बृद्धबृद्धाहरु समस्यामा पर्न सक्ने भएकाले श्रमदान सहितका रचनात्मक कार्यलाई निरन्तरता दिने अध्यक्ष सुबेदीको भनाई छ।

माना मुरी धान फल्ने फाँटका रुपमा चिनिने यस क्षेत्रमा पछिल्लो समय कृषकले खेताला समेत नपाउने अवस्थामा समेत रहेको एमाले मंगला गाउँपालिका कमिटीका अध्यक्ष याम थापाले बताउनुभयो।

रोपाइ श्रमदानमा एमालेको केन्द्रिय सदस्य एवम् एमाले म्याग्दीको पालिका इन्चार्ज नरदेवी पुन,एमाले म्याग्दीकी सचिव थमसरा पुन, उपसचिव एवम् मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धानको उत्पादन वृद्धि,आधुनिकिकरण र व्यवसायीकरणलाई प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

मंगला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी धान उत्पादन हुने मध्येमा पर्छ । यो वर्ष जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइएको छ ।

Leave a Reply