म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौरस्थित मंगला माविका बसन्त विश्वकर्मा एसईई नतिजामा जिल्लाको प्रथम भएका छन् । कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययनरत मालिका गाउँपालिका–६,दुखुका विश्वकर्मा३.७४ जीपीए ल्याएका छन् ।

विश्वकर्माले म्याग्दीका चार सामुदायिक विद्यालयबाट प्राविधिकतर्फ परीक्षामा सहभागी भएका ७९ विद्यार्थीमा उत्कृष्ट नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले बताए । मंगलालाई प्राविधिक धारतर्फ जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने बताए । उनले प्राविधिकतर्फ १४ जना विद्यार्थी सहभागी भएकोमा सतप्रतिशत ग्रेड ल्याएका छन् ।

यसपटक साधारणतर्फको तुलनामा मंगला माविले प्राविधिकतर्फ विद्यालयहरुले प्राप्त गरेको औसत जिपिए र विद्यार्थीको जिपिए दुबैमा विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ । नेपाल सरकारको नमूना विद्यालय मंगला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन् ।

पाठ्यक्रम सहित प्रयोगात्मक अभ्यासमा समेत विद्यालयले प्राथमिकता दिने गरेको विद्यालयका शिक्षक विबेककिरण सापकोटाले बताए । म्याग्दीमा मंगला मावि, गलेश्वर मावि तोरीपानी, मुक्तिधाम मावि भगवती, ताकम मावि ताकमा प्राविधिक धारतर्फको पठनपाठन हुने गरेको छ। एसईईको नतिजामा साधारणतर्फको धेरै चर्चा भएपनि देशैभरी प्राविधिक तर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी ओझेलमा परेका छन् ।

यसैबीच बावियाचौरकै डनिङ आवासीय माविले साधारणतर्फ जिल्लामा सतप्रतिशत नतिजा ल्याउने विद्यालयमा दोस्रो भएको छ । संस्थागत र सामुदायिक गरी ७५ विद्यालयमा बेनीको लिटल गार्डेन एकेडेमी, बावियाचौरको डनिङ बोर्डिङका विद्यार्थीले सतप्रतिशत ग्रेड प्राप्त गरेका छन् भने ७३ विद्यालयका विद्यार्थीले कुनै न कुनै विषयमा ननग्रेड (एनजी) पाएका छन् ।

Leave a Reply