अस्ट्रेलियामा रहेका म्याग्देली भलिबल खेलाडीहरू स्थापना गरेको म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीले भलिबलमा बचस्व कायम गरेको छ। सन् २०१९ सालमा स्थापना भएको क्लवले सर्वाधिक राशीको २ वटा प्रतियोगिता जितेको र ३ वटामा उपविजेता भएको क्लवका अध्यक्ष निर्मल बानियाँले बताए ।

अस्ट्रेलियामा आधिकारिक रुपमा दर्ता भएको नेपाली भलिबल क्लव म्याग्दी काली युनाइटेडले नेपालका राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ, उपकप्तान टेकराज अवस्थी सहित चर्चित खेलाडीलाई आवद्ध गरेको छ । क्लवले भलिबलसँग सामाजिक कार्यमा समेत सक्रियता देखाइरहेको छ।

हालै क्लवले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला पुरुषको फाइनलमा म्याग्दी कालीले छन्त्याल परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको म्याग्दी कालीका म्यानेजर लोकेश बानियाँले बताए । म्याग्दी कालीले २५–१९, २५–२१ र २५–१९ को सेटमा जित निकाल्न सफल भयो । खुल्लातर्फको विजेता बनेको म्याग्दी कालीले ५ हजार अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो भएको छन्त्यालले २ हजार २ सय अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।खुल्लामा म्याग्दी कालीका मान बहादुर श्रेष्ठ सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले १ सय अस्ट्रेलियन डलरसहित ट्रफी प्राप्त गरे । म्याग्दी कालीकै टेक राज अवस्थी उत्कृष्ट स्पाइकर र ब्लकर घोषित भए ।

म्याग्दीकाली युनाइटेड भलिबल क्लबले नेपालका स्थापित खेलाडीसँगै म्याग्दीका विभिन्न स्थानबाट अस्ट्रेलियामा पुगेकालाई समेटेर भलिबल प्रतियोगितामा सहभागिता जनाउने गरेको छ । म्याग्दीमा भलिबल खेलमा स्थापित भएका खेलाडीहरु अस्ट्रेलियामा पुगेपछि धमाधम क्लवमार्फत प्रतियोगितामा सहभागि हुने गरेका छन् ।

Leave a Reply