म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँको दिपशिखा माध्यमिक विद्यालयमा जुनियर डिभिजन तालिम सुरु भएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन तालिम यसवर्ष दिपशिखा माविमा सञ्चालन गरिएको हो । शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीमार्फत पहिलोपटक मंगला गाउँपालिकामा सञ्चालित तालिममा ७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ।

७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम नेपाली सेनाले तोकेको स्थानमा हुन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भीडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन गरिन्छ । खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यवहारिक ज्ञान समेत प्राप्त हुने भएकाले यसअगाडी म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीहरुको आकर्षण बढेको थियो ।

गतबर्ष बेनी नगरपालिका वडा नं ५ पुलाचौरको जनकल्याण माविमा सञ्चालन गरिएको थियो । यो तालिम लिएकालाई भविस्यमा नेपाली सेनामा जागिरका लागि समेत केही सहज हुन्छ भने कुनैपनि बेला आफ्नो सुरक्षामा तालिममा सिकेका सीपलाई प्रयोग गर्न सकिन्छ ।

तालिमका क्रममा विद्यार्थीहरुले खाजा, ड्रेस नेपाली सेनाबाटै प्राप्त गर्दछन् ।नेपाली सेनाको गुल्ममा तालिम दिनका लागि राष्ट्रिय सेवा दलबाट समेत प्रतिनिधि आउने छन् । तालिममा छात्र १८ जना र छात्रा १८ गरी ३६ जनाको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

तालिमलाई प्रभावकारी तवरले सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिका रविन पुनले बताउनुभयो । अनुशासनपूर्वक तालिममा सहभागी भएर सक्रियताका साथ तालिम लिन सहभागी विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्न तथा विद्यालयको चौतर्फी विकासका लागि तालिमले सघाउने विद्यालयले जनाएको छ ।

Leave a Reply