नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको बताएका छन्।एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मानमा आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले बुझ्ने गरी नपढाएकै कारण धेरै विद्यार्थीले फेल भएको टिप्पणी गरे।

सुधारका लागि क्षमतावान् शिक्षकको आवश्यकता रहेको बताउँदै उनले भने ‘नलेज ट्रान्सफर गर्न सक्ने क्षमता भएका शिक्षकको आवश्यकता छ।’ २०८० को एसइई परीक्षामा जिल्लाबाट उत्कृष्ट नतिजा ४ जिपिए ल्याएका दुई जना सहित ३.६ जिपिए ल्याएका १ हजार २८ जना विद्यार्थीहरूलाई सम्मान गर्न ओली बिहीबार बुटवल आएका थिए।

उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको भेलामा बोल्दै ओलीले ननग्रेडमा परेका विद्यार्थीहरूलाई पुरक परीक्षामा पास गराउन तयारी स्वरुप निःशुल्क अनलाइन कक्षा संचालन गर्ने घोषणा पनि गरे। निःशुल्क अनलाइन कक्षाका लागि ओलीले आफ्नो फेसबुक पेजमा जोडिन विद्यार्थीहरूलाई आग्रह गरे।

अधिकतम प्रयास र इमानदारिताले जुनसुकै परिस्थितिमा पनि सफलता प्राप्त गर्न सकिने भन्दै उनले पुरक परीक्षामा सफलता हात पार्ने गरी अगाडी बढ्न ननग्रेडमा परेका बिद्यार्थीहरुलाइ आग्रह गरे।

Leave a Reply