म्याग्दीको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी भएको छ । डिभिजन बन कार्यालय म्याग्दीबाट यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्नुपर्ने भएपनि म्याग्दीमा यसबर्ष जम्मा ५ सय ग्रामको संकलन पूर्जीबाट १० हजार ५ सय राजश्व संकलन भएको छ ।

म्याग्दीमा हरेक बर्ष करिब १० केजीभन्दा बढी यार्सा संकलन हुने भएपनि सबैजसो अवैध बाटोबाट निकासी हुने गरेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा सङ्कलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले बताए ।

‘एकजनाले मात्रै संकलन पूर्जी लैजानुभएको छ,संकलनपूर्जी नलगि छुट पुर्जी पाईदैन’ सूचना अधिकारी खत्रीले भने । म्याग्दीको गूर्जा, मुदी, लुलाङ, मल्कबाङ, कुईनेमंगले, चिमखोला, दाना लगायत हिमाली क्षेत्रमा यार्सा संकलन हुने गरेको छ ।

एकदशक अगाडीसम्म म्याग्दीमा सरकारी निकायबाटै अनुमति लिएर संकलन र छुट पुर्जी बनाई २३ किलोसम्म यार्सा निर्यात हुने गरेको थियो ।

स्थानीय तह र डिभिजन बन कार्यालय लगायत सरकारी संयन्त्रको कमजोरीका कारण संकलन पुर्जि लिनेको संख्या र परिमाणममै भारी गिरावट आएको देखिन्छ । एउटा यार्साको बुटीलाई दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुन्छ ।

यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् भने सर्वसाधारण समेत जंगलमै बसेर संकलन गर्छन् । विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा सङ्कलन गर्ने गर्छन्।

जिल्लामा सबैभन्दा धेरै धवलागिरि गाउँपालिका–१गुर्जा,चुरेन र पुथा हिमालको बुकी र रघुगंगा गाउँपालिका–७,चिमखोलाको हिमाली क्षेत्रमा यार्सा पाइन्छ । ब्यापारी ओमप्रकाश घर्तीले मात्रै अनुमति लिएका छन् । अन्य ब्यापारीले सरकारी निकायलाई नै छलेर अबैधमाध्यमबाट चोरी निकासी गरेका छन् ।

सर्वसाधारणबाट व्यवसायीहरुले प्रतिकिलो पाँचदेखि ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन्। हालको बजारमूल्य प्रतिकिलो ८ देखि ११ लाखसम्म रहेको छ । स्थानीय दुःख गरेर टिपेको यार्सा अनेक झन्झट व्यहोर्नुभन्दा नेपाली बजार र विदेशमा समेत अन्य जिल्लाको सँग मिसाएर बिक्री गर्ने गरिएकाले बुकीबाटै यार्साको अवैध निकासी हुने गरेको छ ।

Leave a Reply