पुनमगर समाजका आफ्नो कला र संस्कृतिको संरक्षणमा समुन्द्रपारी पनि उत्तिकै सक्रिय छन् । पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा फार्नबोरोस्थित कोडी बोमेन स्टोरोङ वेमा उत्साहजनक उपस्थितीमा सम्पन्न भएको छ ।

पुनमगर समाज युकेले स्थापनाकाल २०१४ देखि नै मगर सङ्घ युकेसँग आबद्ध भई भातृ संस्थाको रूपमा हरेक वर्ष धौलागिरि कालीगण्डकी सेरोफेरोमा बसोबास गर्ने पुनमगरहरूको मौलिक तथा परम्परागतरूपमा कलासंस्कृति र भेषभूषालाई जगेर्ना गर्ने हेतुले भूमेपूजाको कार्यक्रम गरिदै आएको छ ।

वार्षिक भेटघाट तथा भूमेपूजाको अवसरमा उद्घाटन समारोहमा मुख्य अतिथि मगर सङ्घ युकेका वरिष्ठ उपाधक्ष्य लालबहादुर पुनमगर, तमुधी युकेका अध्यक्ष हरिबहादुर गुरुङ, मोना युकेका अध्यक्ष कुमार फगामी, पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष अप्सरा गुरुङ, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवङ्शीमगर, खाम भाषीका अध्यक्ष लिलाप्रसाद पुन, म्याग्दी चौतारी पोखराका उपाध्यक्ष कुलवीर राम्जाली, देवीसताङ गाउँपालिकाका अध्यक्ष याम पुर्जा, ईएसीका सचिव भक्त रोका, धौलागिरि गाउँपालिका अध्यक्ष क्याप्टेन दलबहादुर रोका, मगर धनुषबाणका अध्यक्ष नन्दा रोका, मोना युथ उपाध्यक्ष तारा गर्बुजामगर, मगर सङ्घ युकेका सांस्कृतिक सचिव नुनु थापामगरलगायतको उपस्थिति रहेको थियो ।

यूकेमा हुने धार्मिक पूजाको संयोजनक संस्थापक अध्यक्ष बिल पुर्जामगरको निर्देशन गरेका थिए ।  भुमे पूजामा अगुवा बिल पूर्जामगरको संयोजन तथा निर्देशनमा इन्द्रमान खोर्जाले धौलागिरि नौमती बाजाको दमाहा बजाएर र बिल पुर्जाले गाउँघरमा जस्तै गरी अग्लो ठाउँ वा देउरालीमा गएर धोक हाली सुरु गरिएको पूजाकार्यक्रम सुरु गरेका थिए ।
यसै धोकबाट भूमेपूजा सुभारम्भ भएको घोषणा गरिएको थियो ।

समाजको पूजास्थलमा लिङ्गो (रातो सेतो धजा) गाडिएको ठाउँमा ३ जना पुजारीहरूले पूजा सुरु गरेपश्चात् उपस्थित सबैले धुप, चामल, अछेता र जोडी ध्वजाले पूजा गर्ने कार्य भयो । धार्मिक विधि अनुसार पूजाआजा गरिदाँ धौलागिरि नौमती बाजाको नगरा लगाउँदै अगुवाइ गरिएको थियो भने पुनमगरहरूको पुख्र्यौली सोरठी समूहले साइलो भाका प्रस्तु्त गरिएको थियो ।

पूजाको कार्यक्रमपश्चात पुख्र्यौली सोरठी समूहबाट सरस्वती पुख्र्यौली नाच गरी पूजाको कार्यक्रमको समापन गरिएको थियो। पुजासम्पन्न भएपछि संस्थाका अध्यक्ष बल पुर्जा पुनमगर र मुख्य अतिथि लालबहादुर पुनमगरले संयुक्त रूपमा दीप प्रज्वलन गरी यस सत्रको कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा कार्यक्रमका संयोजक तेज राम्जालीमगरले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमका सञ्चालक सचिव तुलचन्द्र तिलिजामगरले भूमे देउतालाई फूलपाती, ध्वजा चढाउँदै पूजामा ‘उपस्थित सबै पाहुनालाई स्वागत छ’ भन्ने गीत गाएर पाहुनाहरूलाई स्वागत गरेका थिए ।

भूमे पूजाको शुभकामना दिने क्रममा खामभाषी मगर समाज युकेका अध्यक्ष लिलाबहादुर पुनमगरले भूमेपूजालाई सिङ्गो मगरहरूको मौलिक पूजाको रूपमा संस्थागत मान्यता दिनुपर्नेमा जोड दिएका थिए ।भूमेपूजा १० औँ वार्षिक उत्सव भएको हुँदा संस्थापक अध्यक्ष बिल पुर्जामगर, वर्तमान अध्यक्ष बल पुर्जामगर र मुख्य अतिथि लालबहदुर पुनमगरले केक काटेर पहिलो दशक मनाइएको थियो ।

पूजासम्पन्न भएपछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सांस्कृतिक सचिव खिम पुनमगरले सांस्कृतिक कार्यक्रम सञ्चालन नेपालका राष्ट्रिय कलाकारहरू नेशन पुनमगर, गगन पुनमगर, ललिता पुनमगर र दीपा गुरुङले आफ्ना बेजोड प्रस्तुति दिएका थिए । भूमेपूजामा ५ सयको हाराहारीमा उपस्थिति रहेको थियो ।

Leave a Reply