केरा खेतीबाट परिचय फेर्नेमध्ये एक हुन् जगतबहादुर घिमिरे । उमेरले करिब ८० बर्ष नजिक पुगेका जगतबहादुरको केराखेती खेतबारीको सुरुवात जोत्ने हलोसँग जोडिएको छ । बेनी नगरपालिका–२,खबराका अगुवा कृषक मानबहादुरको बारीमा केरा फैलिएको देखेपछि स्थानीय जगतबहादुर घिमिरेले १२ बर्ष अगाडी जोत्ने हलो दिएर एउटा केराको बिरूवा लिए।

मानबहादुरलाई चाहिएको हलो दिएर बिरूवा घरमा लगेर लगाएका७७ बर्षिय जगबहादुरको अहिले करिब ४ रोपनी क्षेत्रफलमा केरा खेती छ ।गाउँका अगुवा कृषक समेत रहेका जगबहादुरले अहिलेसम्म लाखौंको बिरूवा बेचेका छन् ।उनले समेत गाउँमा केरा खेती बिस्तारको अभियानमा बल पुग्ने गरी निरन्तर मेहनत गरेका छन् ।

बुढेशकालमा पनि केराखेती गरेका जगतबहादुरले बर्षेनी खर्च कटाएर बचत समेत गर्छन् । उनी भन्छन्,‘त्यो हलो नदिएको भए, अहिले मेरो बारीमा यो केरा खेती देखिदैन थियो’ जगतबहादुरले भने । अहिले जगबहादुरको करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेरा छ ।

केराका घारीले छेकेर घर समेत देखिदैन । ‘एउटा बिरूवा लिएर आएपछि अर्को बिरूवा खोज्न कतै जानुपरेन,त्यही बिरूवाबाटै मैले केरा खेती सुरू गरे’जगतबहादुर भन्छन्।उनले हलोले साटेर लगाएको केरा खेतीको आम्दानीले बुढेशकालमा खर्चको अभाव नभएको बताउँछन् ।

परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेतीका लागि जगबहादुरले म्याग्दीका विभिन बस्तीमा समेत पुगेर सहयोग गरेका छन् । अहिले बार्षिक २ लाख नगद केरा खेतीबाटै कमाउने गरेका जगतले बाँझो जमिनमा केरा खेती गरेमा विदेश जान नपर्ने सुझाव दिन्छन् । बुढेशकालमा पनि घरका अन्य सदस्यहरूबाट सहयोग लिनुपर्ने बाध्यता छैन् । आफ्नै घरआगनबाट बार्षिकरुपमै केरा बेचेर रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

Leave a Reply