कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको छैठौ वार्षिक साधारण सभा भव्य रूपमा मनाएको छ । साधारण सभाको अवसर पारेर परिषद्को आयोजना तथा मातहतका जिल्ला संस्थाहरूको सह आयोजनामा “स्वास्थ्य तथा सचेतना” कार्यक्रम समेत सम्पन्न गरेको छ ।
शुक्रवार फूलबारी रेस्टुरेन्टको सभा हलमा परिषद् कतारका अध्यक्ष सागर पौडेलको अध्यक्षता तथा कतारका लागी नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । विधिबत उद्घाटन सहित अगाडी बढेको कार्यक्रममा नेपालबाट आमन्त्रित मनोविश्लेषक वासु आचार्यले स्वास्थ्य सहित जीवनका विभिन्न आयामका बारेमा सरल तवरले उपस्थितलाई स्वास्थ्य कला सिकाएका थिए । उनले मनले जीवन चलाउने र मन भनेको म मेरो जिन्दगी भरी मेरो बुझाइले सोचले चल्ने र कस्तो सोच्ने गरिन्छ र सोचले कसरी अरूलाई असर पार्छ भन्ने बारेमा आफ्ना भनाई राखे ।
उनले मानवको मनोविज्ञान सामान्य र असामान्य रहने गरेको बताए । दुवै मनोविज्ञानले मानवीय जीवनमा कस्तो असर पार्दछ भन्ने कुरा सहभागीलाई बुझाएका थिए । मनोविज्ञानले गर्भवती महिला र बच्चामा पार्ने प्रभावका बारेमा पनी बताए । हरेक कुरालाई आफूसँग जोड्नु संज्ञानात्मक विकृतिसँग जोडिने हुदॉ त्यसरी सोच्न नहुने बताए।
भावना शरीरको लक्षण, मनोपिडित लगायतका मानवीय जीवनका विभिन्न चरणका बारेमा प्रकाश पारे । उनले मनोविज्ञान सकारात्मक राख्न र बुझ्न आवश्यक रहेको बताउँदै म पनी ठिक र अर्को पनी ठिक छ भनेर बुझ्न आवश्यक रहेको बताउँदै दुनियाँका विषयमा सोच्न बन्द गरे जीवन सहज हुने बताए । आफ्नो र अरूका राम्रा नराम्रा पक्षका बारेमा व्याख्या कम गर्न सकेमा जीवन सहज हुने विश्वास सहभागीलाई दिलाए ।
उनले एन्जाईटी हुनेलाई रातमा र डिप्रेसन हुनेलाई दिनमा समस्या हुने गरेको बताए । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले चिन्ता र चिन्तन फरक कुरा रहेको बताउँदै चिन्तनले लक्ष्य तय गर्दै गन्तव्यमा पुराउने र चिन्ताले अर्कै बाटो डोराउने बताए ।
साधारण सभामा परिषद्का प्रमुख सल्लाहकार राकेश श्रेष्ठ, संस्थापक अध्यक्ष आश बहादुर गुरुङ र गैरआवसिय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारका तर्फबाट प्रतिनिधित्व गरेका प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले कतारमा स्थापित सम्पूर्ण सङ्घसंस्थाको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
आफ्नो मन्तव्यका क्रममा पन्थीले पछिल्लो चरण दोहामा रोजगारी गुमाउनेहरू बढेको र यस पकृतिको कार्यक्रमको आवश्यक रहेको आफूले पनी महसुस गरेकोमा गण्डकी प्रदेशले सऱ्हानिय कार्यक्रम आयोजना गरेको बताए ।
उनले प्रत्येक श्रमिकको साथमा कतारका सबै सङ्घसंस्था सहित एनसिसि कतार रहेको हुदॉ मानसिक लगायत विविध समस्यालाई लिएर अनाहकमा आत्महत्या गर्ने प्रयासहरू बढेको हुदॉ त्यसो नगर्न आग्रह गरे । खादा माला र ब्याचमा हुने खर्च कटौती गर्दै मखमली फुलको थुङ्गाले अतिथि तथा उपस्थितलाई प्रबेशद्घारमा स्वागत गरिएको थियो ।
कार्यक्रमका लागी अध्यक्षता, प्रमुख अतिथिको आतिथ्यता र नेपालबाट आमन्त्रित अतिथि बाहेक सबैलाई एकमुष्ट आशनग्रहण गराउँदै समयको बचत सहित नयाँ प्रकृतिले साधरणसभा सम्पन्न गरेको थियो । लमजुङे कवि सिताराम थापाले १३ सय रियाल तलब शीर्षकमा कविता वाचन गर्दा हल सुनसान भएको थिए ।
सचेतना कार्यक्रममा सहभागीहरूलाई सहभागी प्रमाण पत्र डिजिटल रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको थियो भने आचार्यलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साधरणसभाको समापन गर्दै अध्यक्ष पौडेलले गण्डकी प्रदेशले सदैव फरक किसिमको कार्यक्रम गर्दै आएको बताए । उनले नियोग परिवार, नेपालबाट आमन्त्रित पाहुना सहित, सह आयोजकका रूपमा रहेका जिल्ला संस्था सहित प्रत्यक्ष अप्रत्यक्ष रूपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका थिए ।
परिषद्का सचिव अर्जुन सङ्ग्रौलाले कार्यक्रमको सहजिकरण सहित कार्यसमितिले पछिल्लो एक वर्षमा गरेका विविध गतिविधि समेटिएको कार्यप्रगती विवरण पेस गरेका थिए भने कोषाध्यक्ष रोशन अर्यालले आयव्यय पेस गरेका थिए । सभामा गण्डकी प्रदेशवासी तथा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने साधारणसभामा परिषदका प्रथम उपाध्यक्ष अजय विकले स्वागत मन्तव्य राखेका थिए ।