म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङको बेँसी गाउँकी चित्रमायाँ पुर्जालाई पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँभरी ठूला विद्युत आयोजना रहेको नारच्याङमा आधुनिक मिलभन्दा स्थानीयले चित्रमायाँको पानीघट्टमानै रोज्ने गरेका छन् । पानी घट्ट चलाउँदै आइरहेकी चित्रमायाँलाई विहानदेखि बेलुकीसम्म घट्ट चलाएर फुर्सद नै हुदैन ।
स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्न अझै परम्परागत पानी घट्ट नै रोज्ने गरेको चित्रमायाँको भनाई छ ।‘दिनभर अन्न पिस्ने गर्छु, छिमेकी गाउँबाट पनि घट्टबाटनै पिस्ने भन्दै पठाउँछन्’ चित्रमायाँले भनिन् । उनले नारच्याङ झरनाको पानी उपयोग गरी सञ्चालन गरेको मिलका लागि कुलो र अन्य संरचना बनाउन करिब १ लाख खर्च भएको बताइन् ।
उनले दैनिक १५ जना कुटानीका लागि आउने गरेको बताइन् ।‘घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुन्छ’ चित्रमायाँले भनिन् । मकै, गहु, कोदो लगायतका अन्न घट्टमा नै पिस्नेबाट प्रति पाठी १ माना र नगद २० रुपैयाँ लिने गरेको बताइन् । पानी घट्ट प्रमुख आयस्रोत भएकाले घरखर्च घरखर्च चलेको छ । बेँशी गाउँदेखि नारच्याङ झरनाको भ्यू–पोइन्टमा प्रवेशद्धारमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्ने गरेका छन् । नारच्याङसँगै दानामा समेत पानीघट्ट सञ्चालमा रहेको छ ।
बिजुलीको सुविधासँंगै जिल्लाभित्रका सबैजसो पानीघट्ट विस्थापित भएपनि नारच्याङ र दानामा पानीघट्ट निरन्तर सञ्चालित छ । ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो। पिसानीका लागि पानी घट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो। अहिले पुरानो पानी घट्ट, जाँतो र ओखलको अस्तित्व हराउँदै गएको छ।