म्याग्दीमा नमुना संकलन गरिएका विभिन्न स्थानमा १४ प्रतिशत पिउने पानीमा दिसाका जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५ वटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, खानेपानीको ट्याकी र समुदायमा रहेको धाराको खानेपानीमा दिसामा हुने जीवाणु ‘इ.कोली’को मात्रा उच्च रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानमा संकलन गरेको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जिवाणु भेटिएको जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले बताए । नमुना संकलनको क्रममा जिल्लाको बिम, रूम, मुदी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र गलेश्वरमा ‘इ.कोली’को मात्रा भेटिएको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

स्वास्थ्य चौकीकै खानेपानीको धारामा जीवाणु भेटिएपछि सम्बन्धित स्थानीय तहलाई प्रयोगशालाको विवरण सहित जानकारी गराइएको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए । नमुना संकलनको क्रममा जीवाणु भेटिएको बेनी नगरपालिका वडा नं ९ गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी बृद्धआश्रममा बस्ने बृद्धबृद्धाले समेत प्रयोग गर्ने गरेका छन् ।

सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ प्रतिशतमा ‘इ.कोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको बताइएको छ ।

बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटामा इ.कोली भेटिएको छ । मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ । स्वास्थ्यचौकी बाहेक समुदायले प्रयोग गर्ने खानेपानीको मुहान, धारामा समेत जीवाणु भेटिएको छ ।

दैनिक प्रयोग हुने सार्वजनिक धारा, स्वास्थ्यचौकी, खानेपानीको मुहान र बालबालिकाको समेत पहुँचमा रहेको खानेपानीको संरचनामा जीवाणु भेटिएपछि शुद्ध खानेपानी वितरणका लागि थप योजना बनाउनुपर्ने आवश्यकता रहेको बताइएको छ । नमुना संकलनको क्रममा पिप्ले खानेपानी, बेगखोला खानेपानी, तातोपानीस्थित खालीखोला लगायतका खानेपानीको मुहानमा समेत इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने बेनी अस्पतालकी निमित्त प्रमुख अञ्जु थापाले बताइन् ।

‘इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने डा. थापाको भनाई । खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय र स्थानीय तहमार्फत सुधार सहितका अभियान सञ्चालनका लागि समेत सुझाव दिइएको समेत स्वास्थ्यकर्मीले दिएका छन् ।

Leave a Reply