अत्याधिक बर्षाले म्याग्दी रघुगंगा गाउँपालिका–४,दग्नामको जनता माविको चारकोठे भवन भत्किएको छ । लागातारको बर्षाले चार वटा कोठा पूर्णरुपमा क्षती भएको छ । भवन पर्खाल सहित भत्किदा विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको छ । इन्द्रमानकी बुहारी अशु थजाली र नाती गेनीस थजाली सामान्य घाइते भएको जनता माविका शिक्षक गुन पु्नले बताए ।

उनका अनुसार कक्षा १ देखि ४ सम्म तत्काल अर्को संरचना बनाउनुपर्ने भएको छ । भत्किएको कक्षा कोठा आसपासमा जनप्रतिनिधि र स्थानीयबासीले पन्छाएका छन् । बिहानपख भवन भत्किएकाले मानवीय क्षती जोखिएपनि इन्द्रमानको घर पूर्णरुपमा क्षती भएको छ ।

यसैबीच रघुगंगा गाउँपालिका– ७ चिमखोलामा ५५ वर्षीय डिलबहादुर तिलिजाको दुई तले घर पहिरोको उच्च जोखिममा रहेकोले उहाँको पाँच जनाको परिवारलाई छिमेकीको घरमा राखिएको छ । ५६ वर्षीय लालबहादुर पाइजा, ५४ वर्षीय दिलबहादुर पुनको घर पनि उच्च जोखिममा रहेकोले पाँच पाँच जनाको परिवारलाई छिमेकीको घरमा आश्रयको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

५५ वर्षीय नरबहादुर गर्बुजाको १२ ओटा बाख्रा सहितको गोठ पहिरोले बगाएको इन्सपेक्टर रायमाझीले बताउनुभयो । त्यस्तै ६९ वर्षीय डेकबहादुर कराई पुनको पाँच ओटा माहुरीको घार सहित गोठ बगाएको छ । त्यस्तै ढिकी संग्राहलय रहेको दुई तले पक्की सामुदायीक भवन पहिरोले बगागएर पूर्ण क्षती भएको प्रहरीले जनाएको छ ।

Leave a Reply