म्याग्दीका स्वास्थ्य संस्थामा प्रयोग गरिने खानेपानीमा दिसामा हुने जीवाणु ‘ई कोली’ को मात्रा उच्च रहेको पाइएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका पाँचवटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइको धाराको पानीमा ई कोली र कोलीफर्म रहेको हो।

स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानबाट संकलन गरिएको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जीवाणु भेटिएको जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यले बताए।

‘स्वास्थ्यचौकीमै प्रयोग हुने पिउने पानीमा जीवाणु भेटिएको छ, सम्बन्धित स्थानीय तहलाई नमुना परीक्षणसहित जानकारी गराइसकिएको छ’, जनस्वास्थ्य निरीक्षक आचार्यले भने।

जिल्लाका बिम, रुम, मुदी, प्राथमिक स्वास्थ्य केन्द्र गलेश्वरमा ‘ई कोली’ को मात्रा धेरै भेटिएको छ। गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी वृद्धआश्रममा बस्ने वृद्धवृद्धाले समेत प्रयोग गर्ने गरेका छन्। सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रसम्म संकलित नमुना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो।

स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले १४ प्रतिशतमा ‘ई कोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको बताए। बेनी नगरपालिकामा १६ वटा नमुनामध्ये नौवटामा ई कोली भेटिएको छ।

मालिका गाउँपालिकामा आठवटामध्ये सातवटामा ई कोली, धवलागिरि गाउँपालिकामा तीनवटै नमुनामा ई कोली र अन्नपूर्णमा १८ नमुनामा तीनवटामा ई कोली जीवाणु भेटिएको छ।

जीवाणु भेटिएको खानेपानीको मुहानबाट विद्यालय, समुदायस्तरमा समेत पानी वितरण भइरहेको अवस्थामा वृद्धवृद्धा र बालबालिका झनै प्रभावित रहेको छ। स्वास्थ्यचौकी बाहेक समुदायले प्रयोग गर्ने खानेपानीको मुहान, धारामा समेत जीवाणु भेटिएको छ।  ‘यो नतिजाले नागरिकले दूषित पानी पिउने गरेको, यसले नागरिकको स्वास्थ्यमा असर गरिरहेको छ’, प्रमुख ठकुराठीले भने।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको संक्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने उनले बताए।

खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय र स्थानीय तहमार्फत सुधारसहितका अभियान सञ्चालनका लागि सुझाव दिइएको बताए।

‘ई कोलीका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोग संक्रमण हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply