म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटर पश्चिममा अवस्थित बगरफाँट गाउँको शिरानमा रहेको पर्यटकीय सम्भावनाले युक्त उडाइनो झरना पर्यटकीय पूर्वाधारको पर्खाइमा रहेको छ ।

विशाल चट्टाने पहरोको सिरानबाट हामफाल्दै पहराको बीचमा पहिलो खण्ड र जंगलको सिरानमा दोस्रो खण्ड भएर पानी उड्ने उडाइनो झरनाले हजारौं पर्यटकहरुको मन खिच्न सफल भएपनि पर्यटकीय पूर्वाधार नहुँदा ओझेलमा परेको हो ।

बेनी नगरपालिका-२ बगरफाँट गाउँको सिरानमा पर्ने यो छहरोको पानी उड्ने र तलबाट हेर्दा निकै आकर्षक देखिने भएकोले यो झरना प्रकृतिप्रेमी पर्यटकको प्रतीक्षामा छ ।

पुछारमा कलकल गर्दै बगेको म्याग्दी नदी । नदीको तटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा रहेको घना जंगल छिचोलेर यस झरनाको फेदमा पुग्न सकिन्छ।

जंगलको माथिपट्टि विशाल भीर रहेको छ । त्यही भीरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको छ पानी उड्ने-उडाइनो झरना ।

सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर, शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरू हेर्दै करिब चार किलोमिटरको यात्रापछि पुगिन्छ उडाइनो झरनामा । करिब दुई सय ५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको एकसय मिटर दक्षिणी भागमा अवस्थित छ ।
वर्खा लागेपछि झरनामा रमाउनका लागि दैनिक दुईसय बढी युवायुवती आउने गरेका स्थानीयले बताएका छन् । उडाइनो झरनाको दायाँतर्फ करिब २ सय मिटरको दुरीमा कोप्रे झरना रहेका छ । बांगोटिंगो (नागबेली) भएर झर्ने भएकोले यस झरनालाई कोप्रे झरना भनिएको स्थानीय खमबहादुर घर्तीले बताउनुभयो ।

उडाइनो झरना र कोप्रो झरना दुवै वडाका आकर्षक झरना बनेका र यी झरनासम्म पुग्ने पैदलमार्ग तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरेर प्रचार प्रसार गर्ने हो भने यहाँ धेरै पर्यटकहरूलाई ल्याउन सकिने बेनी नगरपालिका-२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभ हिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको यो झरना करिब दुई सय ५० मिटर अग्लो छ। झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी-बगरफाँट-वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।

स्थानीयको मागलाई मध्यनजर गर्दै नगरपालिका र प्रदेश सरकारसँग यस्ता प्राकृतिक पर्यटकीय स्थलहरुको संवर्द्धनका लागि यथोचित बजेट माग गर्ने र यहाँ पूर्वाधार निर्माण गर्ने बेनी नगरपालिका २ का वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

यो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा पनि व्यापक बन्दै गएको छ ।

बेनपा-३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा भने सुक्छ । पूर्वाधार विकास र प्रचार-प्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ ।

पैदल वा सवारी दुवै प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचार-प्रसार गर्न सकेमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारा विकास गर्ने हो भने भकिम्ली बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटको संख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

रमणीय जंगलबीचमा रहेको झरना वरिपरि जंगली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरूप नबिग्रनेगरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ । रासस

Leave a Reply