म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनको आयोजनामा मोना स्पेन नेपाली युरो कप फुटबल प्रतियोगिता आगामी अगस्ट ४ गतेदेखि हुने भएको छ। यूरोपमा छरिएर रहेका नेपाली फुटबल खेलाडी बिचको एकता र सहकार्यसँगै खेल प्रतिभाको पहिचान गर्ने गरी बार्सिलोना स्पेनको तयारी तिब्र पारिएको छ ।

पछिल्लो समय नेपालमा ए डिभिजन खेल खेलेका खेलाडी समेत यूरोपमा प्रवेश गरेको अवस्थामा यूरोपस्तरीय टिम बनाउन समेत सजिलो हुने भएकाले प्रतियोगिताको आयोजना गरिएको मोना स्पेनका सल्लाहकार एवम् प्रतियोगिता संयोजक सुरेश शर्माले बताए ।

‘यूरोपमा रहेका नेपाली फुटबल खेलाडीलाई राम्रो अवसर हो, हामीले प्रतियोगितालाई एतिहाँसिक बनाउने प्रयासमा छौ’ संयोजक शर्माले भने । प्रतियोगितामा प्रथम हुनेले ५ हजार ५ यूरो, ट्रफी मेडल र प्रमाणपत्र, दृतीय हुनेले २ हजार २ यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने र नाम दर्ता ४९५ यूरो रहेको मोना स्पेनका महासचिव प्रविण सुबेदीले बताए। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तााई समेत पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा यूरोपभरीका देशमा रहेका नेपाली संघसंस्थालाई विभिन्न माध्यमबाट निमन्त्रणा गरिएको छ । प्रतियोगिताले नेपालीहरुको एकताको उत्सव र मातृभूमिको सम्झना समेत दिलाउने मोना स्पेनका अध्यक्ष अयन्द्र तुलाचनले बताए ।

खेलकुद र सौहार्दताको माध्यमबाट नेपालको भावनालाई पुनर्जीवित गर्ने, आत्मीयता र गर्वको भावना जगाउने र अविस्मरणीय सम्झनाहरू सिर्जना गर्ने उदेश्य रहेको अध्यक्ष तुलाचनको भनाई छ। मोना स्पेनले खेलकुदसँगै संस्थागत गतिविधिमार्फत स्पेनमा रहेका म्याग्देलीलाई गोलबद्ध गरेको छ ।

Leave a Reply