म्याग्दी जिल्लाका दुग्ध उत्पादक कृषकहरुले उत्पादन परिमाणका आधारमा पाउने अनुदान फिर्ता भएको छ। गण्डकी प्रदेश सरकारले पठाएको करिब २४ लाखमध्ये २२ लाख अनुदान प्रक्रिया नपुगेको भन्दै कृषकलाई वितरण नगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले फ्रिज गरेको हो ।

सहकारी संस्था वा सहकारी समूहबाट दूध बिक्री वितरण गर्दै आएका कृषकहरुलाई प्रोत्साहन गर्ने गरी प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउन केन्द्रलाई चालु आर्थिक वर्ष २०८०÷८१ का लागि २४ लाख रुपैयाँ बजेट आएको थियो।

ज्ञान केन्द्रको सार्वजनिक सूचनाका आधारमा दोभान कृषि सहकारी, बास्कुना कृषि सहकारी,शुभकामना कृषि सहकारी र सिमलचौर बिउ बिजन कृषि सहकारी संस्थाले आवेदन पेश गरेका थिए। शुभकामना कृषि सहकारी संस्थामा आवद्ध कृषकहरूले मात्र २ लाख १ हजार ५ रुपैयाँ अनुदान पाएका छन्। २१ लाख ९८ हजार ५ रुपैयाँ अनुदान फिर्ता भएको केन्द्रका प्रमुख डा.भरत रेग्मीले बताए ।‘कार्यविधि अनुसारको आवेदनकर्ताको मापदण्ड अपुग भएपछि वितरण गर्न सकिएन,सिफारिस समितिको प्रतिवेदनलाई पन्छाउन मिल्दैन’ डा.रेग्मीले भने।

केन्द्रका प्रमुख डा.भरत रेग्मीका अनुसार कार्यालयका योजना प्रमुख सुबास रेग्मी, लेखा प्रमुख र एक जना प्राविधिक रहेको समितिले गरेको सिफारिसमा आवेदन दिएकामध्ये सहकारीले दुध संकलन नगर्ने, कृषकलाई भुक्तानी गरेको विवरण समेत दिन नसकेको लगायतका कारण देखाएपछि अनुदान नपाएको बताए।

यता बेनी नगरपालिका–७ कुरिलाखर्कस्थित ढुंगाना कृषि तथा पशुपक्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले केन्द्रका कर्मचारीले ब्यक्तिगत पूर्वाग्रह राखेर अनुदानबाट बञ्चित गराएको बताएका छन् ।‘कार्यविधि अनुसार प्रक्रिया पुरा गरेको अवस्थामा अन्तिम समयमा आएर विभिन्न बाहना बनाए,अनुदान रोकेर ब्यवसायिक कृषकमाथि अन्याय गरिएको छ’सञ्चालक ढुङ्गानाले भने ।

उनले उत्पादनका आधारमा अनुदान दिँदा पारदर्शी र कृषकलाई प्रत्यक्ष सहयोग पुग्ने गरी मापदण्ड रहेको बताए ।केन्द्रमा आवेदन दर्तादेखि अनुदानसम्म भएको अन्यायको नतिजा कृषकले भोग्नुपरेको बताए ।‘आवेदन दिएका हरेक कृषकले नियमित दुध बिक्री गर्छन, गोठमै पुगेर हेर्न सकिन्छ’ कृषक ढुंगानाले भने ।

उनका अनुसार अनुदानका लागि आवेदन दिने दोभान कृषि सहकारीबाट दैनिक १३ सय लिटर,बास्कुना कृषि सहकारीबाट ३ सय, शुभकामना कृषि सहकारीबाट २ सय, सिमलचौर कृषि सहकारीबाट ५ सय लिटर दुध बिक्री हुन्छ । उत्पादनका आधारमा अनुदान रकम दिने भएपछि जसले धेरै उत्पादन गर्छ उसैले बढी रकम पाउने भएकाले उत्पादन वृद्धि गर्नसमेत यस कार्यक्रमले सहयोग पुगेको बास्कुना कृषि सहकारीका अध्यक्ष तिलक गुरूङले बताए ।

‘कृषकलाई आएको अनुदानमा यसपटक जालझेल गरियो, दुध उत्पादन गरिरहेका कृषक आजित भएका छौ’ कृषक गुरूङले भने ।उनले नियत खराब भएकै कारण वास्तविक कृषकहरूले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको अनुदान पाउन समेत नसकेको बताए ।

दूध उत्पादनमा आधारित प्रोत्साहन रकम हरेक चौमासिकमा वितरण गर्नुपर्ने कार्यविधि भएपनि विभिन्न प्रक्रिया देखाउँदै एकै किस्तामा अन्तिममा भुक्तानी गर्ने प्रतिवद्धता जनाएपनि अन्तिम समयमा आएर कार्यविधि अनुसार मापदण्ड नपुगेको बताएपछि निराश भएको अर्का अगुवा कृषक दुर्गाप्रसाद पौडेलको भनाई छ।‘यसपटक म्याग्दीका दुग्धपालक कृषकलाई अन्याय भएको छ,यस्तै कारणले कृषक पलायन हुन बाध्य छन्’ पौडेलले भने।

ढुङ्गाना, गुरूङ र पौडेल प्रदेश तथा राष्ट्रियस्तरको पुरस्कारबाट समेत सम्मानित भएका म्याग्दीका अगुवा कृषक हुन् । अनुदान र अन्य नीतिगत बहस गर्ने कृषकसँग केन्द्रका कर्मचारीको सम्बन्ध चिसिएको अवस्थामा अनुदानमा मनोमानी कैची चलाइएको कृषकहरूको आरोप छ ।

यता केन्द्रका योजना शाखा प्रमुख सुबास रेग्मीले अनुदानका लागि आवेदन दिएका कृषि सहकारी संस्थाको दुध खरिद, बिक्री र कृषकलाई भुक्तानी दिएब्को विवरण नभेटिएको बताए। ‘दुध खरिददेखि भुक्तानीसम्मको वित्तिय विवरण भेटिएन, कृषकलाई बेइमानी गरिएको छैन’ योजना शाखा प्रमुख रेग्मीले भने। उनले आवेदन दिएकामध्ये बेनपा–४, सिंगामा अवस्थित शुभकामना कृषि सहकारी संस्थाले मात्र कृषकहरूबाट दुध संकलन, बजारमा आपूर्ती रसहकारीको खाताबाट कृषकलाई रकम भुक्तानी गरेको पाइएकाले अनुदान दिएको बताए ।

आवेदन दिएका अन्य संस्थाले भने खरिद मात्रै देखाएपनि बिक्री र भुक्तानी सहकारीमार्फत कृषकलाई दिएको नभेटिएको रेग्मीको भनाई छ । केन्द्रले जिल्लामा साना व्यावसायिक फार्म स्थापना तथा विस्तार,व्यावसायिक पशु फार्म तथा समुदायस्तरमा हुने उत्पादनमा आधारित कार्यमा कार्यक्रम सञ्चालन गरी कृषकहरुलाई सहयोग गर्दै आएको बताए । म्याग्दीको सदरमुकाम बेनीमा दैनिक २४ सय लिटर दुध आपूर्ती हुन्छ ।

 

Leave a Reply