राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) जिल्ला शाखा, म्याग्दीले शनिवार २५औं स्थापना दिवस मनाएको छ । मानवअधिकार एलायन्स म्याग्दी शाखाको आयोजनामा स्थापना दिवसको अवसर पारेर म्याग्दी जिल्लामा मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया र छलफल गरिएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य एवं म्याग्दी इन्चार्ज दिलमाया बिटालुले एलायन्सको स्थापना, उद्देश्य, पृष्ठभूमी र म्याग्दीमा मानव अधिकारको अवस्थाबारे तथ्याङ्कलगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष रेखाकौशल रेग्मीले म्याग्दीमा मानव अधिकारको अवस्था र महिला अधिकारबारे कार्यपत्र पेश गर्दै आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमले मानव अधिकारको संरक्षण र न्यायका लागि बहस सिर्जना भएको बताउनुभयो । उहाँले अहिले विश्व समुदाय दुईवटा विचार पुँजीवाद र समाजवाद वा साम्यवाद भनेर विभाजित भैरहेको अवस्थामा मानव अधिकारको प्रत्याभूति र संरक्षण गर्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले संविधानले मौलिक हकमा धेरै व्यवस्था गरेको भए पनि राज्यको सामथ्र्य हुन नसक्दा कार्यान्वयनमा समस्या भैरहेको बताउनुभयो । कार्यक्रममा मानवअधिकार एलायन्स म्याग्दीका पूर्व अध्यक्ष घनश्याम खड्का र पर्वत जिल्ला सदस्य एवं जलजला गाउँपालिका इन्चार्ज जीवन मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एमाले म्याग्दीका सचिव थमसरा पुन तथा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीको विशेष उपस्थिति रहेको थियो ।
म्याग्दीमा मानव अधिकारको अवस्थाबारे तथ्याङ्कमाथि बहस र छलफल गरिएको कार्यक्रम एलायन्सका जिल्ला अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता, उपाध्यक्ष भीमबहादुर रिजालको स्वागत र सहसचिव तेजकुमारी बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । मानवअधिकार एलायन्समा गैरसरकारी संघसंस्था, युवा क्लब, आमा समूहलगायत आबद्ध रहेका छन् ।

Leave a Reply