CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिनाले आज अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई १-० गोलले पराजित गर्‍यो।

निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो। जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्न सफल भए। उनले खेलको ११२औं मिनेटमा गोल गरेका थिए। यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो।

अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो। १६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ। अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको छ।

खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी घाइते हुँदै बाहिरिन बाध्य भएका थिए। दोस्रो हाफमा उनी मैदान बाहिरिएपछि निकोलास गोन्जालेज मैदान छिरेका थिए। ६८ मिनेटमा मेसीको खुट्टामा समस्या देखिएको थियो।

चोटका कारण मैदान बाहिरिएसँगै मेसी निकै भावुक बनेका थिए। जसका कारण उनको आँखाबाट आँशु झरेको थियो। उनी मैदान बाहिरिदा मैदानमा उपस्थित दर्शकहरूले मेसीका लागि ठूलो हुटिङ गरेका थिए।

तीन कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पुगेर पनि पराजय भोगेका मेसीले पछिल्लो कोपा र विश्वकपको भने उपाधि जितेका थिए। मेसीले कोपा २०२४ को उपाधि जितेसँगै तीन वर्षमा तेस्रो उपाधि जित्न सफल भए।

यसअघि कोपा २०२४ मा मेसी चिलीविरुद्धको खेलमा घाइते भएका थिए। जसका कारण उनले समूह चरणमा पेरुविरुद्धको खेल गुमाएका थिए। सेमिफाइनलमा क्याडनाविरुद्ध गरेको गोल उनको कोपा २०२४ को एक मात्र गोल हो।

Leave a Reply