हिमालपारीको जिल्ला मुस्ताङ र तिब्बतस्थित अन्तर्राष्ट्रिय सीक्षा क्षेत्र कोरला नाकामा एकीकृत भवन निर्माण भएको छ ।
चालु आर्थिक वर्ष २०८०-०८१ मा गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सीमा क्षेत्रको नेपाली भूमिमा सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालय मुस्ताङसँग निमा निर्माण सेवा गोकर्णश्वर–८, काठमाडौंले कुल ४० लाख २५ हजार नौसय ९९ रुपैयाँको लागतमा निर्माण सम्झौता गरेर भवन बनाएको कार्यालयले जनाएको छ । निमा निर्माण सेवा कम्पनीले डेढ महिनाको अवधिमा उक्त भवनको निर्माणकार्य सम्पन्न गरेको हो ।

सीमा क्षेत्रमा सुरक्षा र राजश्व सङ्कलन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि–फाइप प्रविधिको छ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव–इन्जिनियर कमल पहारीले जानकारी दिनुभयो । गएको जेठ १३ गते निर्माण सम्झौता भएको भवनको यही असार तेस्रो साता (२३ गते)भित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो ।

नवनिर्मित भवनको फिनिसिङबाहेक अहिले निर्माणका सबै काम सकिएको सव–इन्जिनियर पहारीले बताउनुभयो । तोकिएको मितिभित्रै निर्माणसम्पन्न भवनभित्र अफिस कार्यालय, सभाहल, भान्साकोठा आदि रहेका छन् । भवन नजिकै ट्वाईलेट र बाथरुम समेत निर्माण गरिएको छ । नवनिर्मित भवन भूकम्प प्रतिरोधात्मक र उच्च ठाउँमा भएकाले वातावरण अनुकुलित बनाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । नेपाली भूमिमा नेपाल सरकारले पहिलोपटक यो भवन निर्माण गर्न सफल भएको हो ।

फिनिसिङको बाँकी काम सकेर अब छिटै भवन हस्तान्तरण गर्ने तथा फर्निचरको व्यवस्थापन गरेर सीमा क्षेत्रको नयाँ भवनबाटै आवश्यक कार्य सञ्चालन गर्ने तयारी समेत गरिएको छ । कोरला नाकाको चिनिया भूमिमा भने चीन सरकारले यसअघि नै भन्सार कार्यालय, सुरक्षा भवन, खानेपानी, सञ्चारलगायत आवश्यक संरचनाहरु निर्माण गरिसकेको छ । चीन सरकारले वि.सं. २०७४ सालदेखि नै संरचना बनाउन सुरु गरेको थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सीमा क्षेत्रमा हालै मात्र एकीकृत भवन निर्माण भएकाले आवश्यकताअनुसार सुरक्षा, राजश्व सङ्कलनलगायत अति आवश्यक सेवाहरु सञ्चालन गरिने बताउनुभयो । समुन्द्री सतहदेखि ४६ सय मिटरको उचाइमा पर्ने कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारीहरु र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरुका लागि चीन सरकारले गएको कात्तिक महिनामा १० जना अटाउन सक्ने चारवटा कन्टेनर सहयोग गरेको थियो । चार वर्षदेखि बन्द रहेको कोरला नाका गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको छ ।।

Leave a Reply