रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरी एरिया अन्तरगत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले आधा वर्षमै प्राप्त गरेका छन् । सुरक्षित तथा बिमा सचेतनामुलक अभियानमा ग्रामिण क्षेत्रसम्म केन्द्रित रहेको रिलायबल नेपाल बेनी शाखाबाट बिना खड्का र सञ्जु बरुवालले प्रथम बिमा शुल्क ४७ लाख माथिको लक्ष्यलाइ हासिल गरेको धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले बताए ।

‘यो ठूलो सफलता हो, बिमा साक्षरतासँगै अभिकर्ताको सफलताबाट उत्साहित छौ, हामीले बिमितमार्फत सर्वसाधारणलाई बिमाको महत्व बुझाउन सकेको एउटा उदाहरण हो’ घिमिरेले भने । उनले बिमाका अभिकर्ता, एजेन्सी म्यानेजर तथा कर्मचारीमार्फत हरेक विमितलाई सुरक्षित बिमा, भविस्यमा हुने आर्थिक लाभ तथा परिवारको सुरक्षा सहितका बिमा शिक्षालाई प्राथमिकता दिएको बताए ।

एमडिआरटी एचिभ गरेका बरुवाल र खड्कालाई बेनीमा सम्मान सहित केक काटेर खुशीयाली मनाउनुका साथै खादा ओडार सम्मान गरिएको थियो । जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने भएकाले डिसेम्बर अन्तिम सम्ममा लक्ष पुरा गर्नु पर्ने भए पनि दुई जनाले जुलाइ महिनामै लक्ष्य हासिल गरेको बेनी शाखा प्रमुख सुस्मा खत्रीले बताइन् । उनका अनुसार मिलियन डलर राउण्ड टेबल वित्तीय सल्लाहकार प्रायःजसो बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था भएको बताइन् ।

उनले संस्थाले आफ्नो सदस्यता वितरणका लागि प्रत्येक वर्ष मुलुक पिच्छेका अभिकर्ताका लागि फरक फरक व्यवसायीक लक्ष्य निर्धारण गर्ने र तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्ताले सदस्यता शुल्क भुक्तानी गरेर आफूले गरेको व्यवसायका आधारमा एक पटकका लागि सदस्यता प्राप्त गर्ने बताइन् । सदस्यता नविकरणका लागि पुनः व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता हासिल गर्नुपर्छ र पुनः सदस्यता शुल्क भुक्तानी गर्नु पर्ने शाखा प्रबन्धक खत्रीको भनाई छ ।

एमडीआरटीका लागि सन् २०२५ मा योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नुपर्ने हुन्छ । यसअघि सन् २०२४ का लागि कम्तीमा ४१ लाख ७१ हजार ५ सय रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गर्नुपर्ने लक्ष्य तोकिएको थियो । सन् २०२३ का लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ व्यवसायीक लक्ष्य रहेको थियो । एमडिआरटीका लागि हरेक वर्ष अन्तर्राष्ट्रिय रुपमै प्रथम विमा शुल्क निर्धारण हुने गर्दछ ।

मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) विश्वभरका व्यवसायीक वित्तीय सल्लाहकारहरुको साझा संगठनको रुपमा हेरिँदै आएकोमा यसमा आबद्ध सदस्यहरुले वर्षमा एक पटक विश्वव्यापी सम्मेलनमा सहभागिताको अवसर प्राप्त गर्छन् ।

यसैबीच धौलागिरी एरियाबाटै यसिन रोकाले आर्थिक वर्ष २०८०÷०८१ मा टिम बिजनेसमा नेपालमै पहिलो बन्न सफल भएका छन् । उनले सामुहिक तर्फको व्यवसायीक तबरबाट धौलागिरी एरियामा सञ्चालनमा रहेका १४ वटा बिमा कम्पनिहरु मध्येबाटै पहिलो पटक उक्त उपलब्धी हासिल गरेको धौलागिरी एरिया म्यानेजर घिमिरेले जानकारी दिए ।

Leave a Reply