पहिरो पन्छाएको केही घण्टा फेरी जस्ताको त्यस्तै । डेढदशक देखि करोडौं खर्चिएर स्तरोन्नती तथा हरेक बर्खाको समयमा दर्जनौ पटक मर्मत गरिएपनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झन झन भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ ।

बेनी नगरपालिका–४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै बर्षा नहुदाँ समेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।

पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सिमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाई छ ।

‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ,बैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिदाँ समस्या ज्युँकोत्युँ छ’ मंगला गाउँपालिका–१,कुहुँका दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले भने । उनले अहिलेको अवस्थामा प्रयोग भइरहेको बैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्न समेत निकै समस्या भएको बताउँदै तत्काल वैकल्पिक सडक र बेलिब्रिज निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

तत्कालिन समयमा ड्रिलिप परियोजना, जिविस तथा हाल पूर्वाधार कार्यालय बजेट खन्याएर पनि माथिबाट खस्ने पहिरो नरोकिदाँ पश्चिम म्याग्दीबासीले बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपरेको छ । करिब २० वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो।

‘फापरखेतको पहिरो टाउको दुखाईको विषय बनेको छ,‘बर्खाको समयमा बैकल्पिक सडक बनाए सधै यस्तै हो’तातोपानीका स्थानीय यूवा कुमार केसीले भने ।उनले माथिबाट खस्ने पहिरो रोकथाममा समान्य बजेटले अपुग हुने भएकाले बर्खाको समयको तीन महिना पखेर आसपासबाट आवतजावत गर्ने बैकल्पिक सञ्जालको आवश्यकता रहेको बताए ।

पहिरोस्थलमा निर्माण ब्यवसायीले अवरुद्ध हुदाँ वित्तिकै मर्मत, सुरक्षा निकाय लगायत प्रशासनबाट समेत पुगेर मर्मतसम्भारमा सक्रिय देखाएपनि बैकल्पिक मार्ग नहुदाँ ठूला सवारीसाधनमा आवतजावत गर्नेहरुले परिवर्तन गर्नुपर्छ ।

बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै बैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘बर्खाको समयमा बैकल्किप मार्ग आवश्यक छ,‘पालिकाले धेरै पहल गरेको छ,अहिले मोटरसाइकललाई सहज हुने गरी बैकल्पिक बाटो मर्मतमा जुटेका छौ’ अध्यक्ष रोकाले भने ।

मंगला गाउँपालिका वडा नं ३ पखेर लुलीयाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निर्वतमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश क्षेत्र नं १ का सांसद हरि भण्डारी, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल सहितको टोलीले प्रस्तावित स्थानको अध्ययन समेत गरेका थिए।

प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको असहमति तथा बजेटको सुनिश्चितता समेत नहुदाँ बैकल्पिक मार्गले गति लिन नसक्दा यो बर्खामा यात्रुलाई निकै सास्ती भएको छ । सडक विभागले फापरखेत–पखेर जोड्ने १०५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सोह क्षेत्रबाट मार्ग ब्यवस्थित बनाउन सकेमा हिउँदमा समेत फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन ।

फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ। सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर समेत जोखिममा परेको छ ।

२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति बनेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताए। सडक पन्छाउने जिम्मेबारी पाएका निर्माण ब्यवसायी डम्बर सापकोटाले पहिरो पन्छाउँदा डोजर नै पुरिने जोखिम रहेको बताए । उनले पटकपटक पन्छाउने क्रममा माथिबाट पहिरो खसेर अप्रेटर दुर्घटनामा पर्ने अवस्था आएकाले अब सहज विकल्पको खोजीमा सबै जुट्नुपर्ने बताए ।

Leave a Reply