म्याग्दीको बेनी नगरपालिका-९,प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बस्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको सभाहलको शुक्रबार बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसी र गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि, भेला तथा भेटघाट र विभिन्न कार्यक्रम गर्ने गरी गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाँ लागतमा सभाहल निर्माण गरिएको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताए ।

ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको बेनी नगरपालिकाको सामुदायिक स्वास्थ्य इकाईको भवनको माथिल्लो तलामा निर्मित फेब्रिक प्रविधिको सभाहलमा करिब २ सयको क्षमता रहेको छ ।‘ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू खुल्लाचौरमा गर्नुपर्ने बाध्यता हटेको छ,अब सभाहलमा दिउँसो टेलिभिजनबाट प्रवचन सहित दृष्य हेर्ने सुविधा पनि थप्नेछौ’अध्यक्ष पुनले भने ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष केसीले समुदायस्तरबाट ज्येष्ठ नागरिकको आश्रम सहितका संरचना ब्यवस्थापन गरिएको बताउँदै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी चालु आवमा बजेट विनियोजन गरिएको बताए ।

सोही अवसरमा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले ज्येष्ठ नागरिकका आवश्यकतालाई पुरा गर्ने बताए । उनले गलेश्वर शिवालयमा भक्तजनले चढाएको भेटीबाट सभाहल बनाउन सहयोग गरिएको बताए ।

त्यस्तै गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले कोष, आश्रम र अन्न क्षेत्र बिचको सहकार्यलाई थप बलियो बनाउने बताए ।

ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनको अध्यक्षता, सचिव लक्ष्मण चालिसेको संचालन र आश्रमका उपाध्यक्ष टिकानन्द सुवेदीको स्वागतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा आश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना वृद्धवृद्धाको बसोबास रहेको छ ।

Leave a Reply