प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका-४,तातोपानी कुण्डमा साउनको पहिलो सोमबार साउन ७ गतेबाट ‘सन्ध्याकालीन आरती’ शुभारम्भ गरिने भएको छ ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी आगामी साउन ७ गते सोमबारबाट सुरु गर्ने गरी ‘सन्ध्याकालीन आरती’ को तयारी अन्तिम चरणमा पुगेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

‘हरेक सोमबार आरतीमा श्रवण गर्न पाइन्छ, यस क्षेत्र धार्मिक दृष्टिकोणले पनि पवित्र छ’ अध्यक्ष खड्काले भने । उनका अनुसार प्रत्येक सोमबार साँझ करिब दुई घण्टा आरती सहितको धार्मिक कार्यहरु हुने छन् ।

भगवान शिवकोको पुजा आरधना गदैं १ सय ८ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गरिने छ । आरतीका लागि ३ जना कन्या सहित ६ जनालाई तालिम समेत दिइएको छ ।

तातोपानी कुण्डमा आउने बिरामी, स्थानीयबासी तथा आरतीका सहभागि तथा अवलोकनका लागि समेत सहज हुने गरी तयारी गरिएको समितिका सचिव कुमार केसीले बताए । ‘आरतीले भक्तजनहरूमा आध्यात्मिक शान्ति र आनन्द महसुस हुनेछ, आरतीले तातोपानीको गौरव थप्ने छ’ सचिव केसीले भने ।

तातोपानीमा स्नान गर्न आउने बिरामीको मनोकामना पूरा गर्ने, मनोबल बढाउन समेत सघाउने सचिव केसीको भनाई छ । हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो। बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ४५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि बर्षेनी २० हजारको हाराहारीमा आउने गरेका छन् । पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा पर्ने तातोपानीको ‘सन्ध्याकालीन आरती’ले आन्तरिक पर्यटक बढ्ने तातोपानी कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश–विदेशमा समेत चर्चित छ ।

Leave a Reply