जिल्ला प्रहरी कार्यालय म्याग्दीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट साढे १० हजार जना म्याग्दीवासी लाभान्वित भएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लघु सचेतना कार्यक्रम तथा ग्रामीण गस्तीबाट ४ सय ६७ वटा कार्यक्रममार्फत १० हजार ४ सय ९४ जना लाभान्वित भएका हुन् भने ३ सय ३३ पटक ग्रामीण गस्ती गरिएको छ ।
आज (शनिवार) जिल्ला प्रहरी कार्यालय म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कार्यालयबाट सम्पादित चौथो त्रैमासिक कार्यप्रगति विवरणहरु सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको प्रगति विवरणअनुसार पछिल्लो तीन महिनाको अवधिमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको हो । सो अवधिमा जिल्ला प्रहरी कार्यालयमा ३९ वटा मुद्दा दर्ता भएकोमा १५ वटा फस्र्योट भई २४ वटा मुद्दा फस्र्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला अदालत म्याग्दीबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरी उनीहरुबाट ८२ हजार पाँचसय रुपैयाँ जरिवाना असुलउपर गर्नुका साथै ६ वर्ष ३ महिना ११ दिन कैद सजाय भुक्तान गराइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।
यसैगरी चौथो त्रैमासिक कार्यप्रगति अनुसार २ हजार ४५ वटा सवारीसाधनलाई ट्राफिक कारवाही गरी १७ लाख पाँचहजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा ६ सय ८७ वटा ट्राफिक जनचेतनामूलक कार्यक्रमबाट ५१ हजार ७ सय ६३ जना लाभान्वित भएका छन् ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठले प्रस्तुत गरेको कार्यप्रगति विवरणमा पछिल्लो तीन महिनाको अवधिमा विभिन्न चारवटा सवारी दुर्घटना भएकोमा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको उल्लेख छ । त्यस्तै मादकपदार्थ सेवन गर्नेहरु १ सय ५ जनालाई गरिएको कारवाहीबाट एकलाख १० हजार रुपैयाँ जरिवानास्वरुप राजश्व सङ्कलन भएको छ ।
त्यस्तै महिला, बालबालिका र ज्येष्ठनागरिकमाथि पाँचवटा घरेलु हिंसाका उजुरी दर्ता भएकोमा पाँचवटै उजुरीहरु मिलापत्र भएका छन्भने विभिन्न २१ जना व्यक्तिहरु हराएकोमा १७ जना भेटिएको र बाँकी हराइरहेका व्यक्तिहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै हत्या, हिंसा, लुटपाट, र लागूपदार्थ दुव्र्यसनीलगायत घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाही गरिएको छ ।
नागरिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लामा लागूऔषध ओसारपोसार तथा अपराध नियन्त्रणमा प्रहरीले प्रभावकारी काम गरिरहेको हुँदा सर्वसाधारण नागरिकहरुले प्रहरीलाई सही र तथ्यपरक सूचनाहरु उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताउनुभयो ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउनका लागि प्रहरीलाई आवश्यक स्रोतसाधनसम्पन्न गराउन नगरपालिका र सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, माओवादी केन्द्रका संयोजक शेरबहादुर केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापाले मानिस जन्मेदेखि मृत्यसम्म प्रहरीको सहयोग आवश्यक रहेकोमा जोड दिँदै प्रहरीलाई नागरिकस्तरबाट आवश्यक सूचना, सल्लाह तथा सुझावहरु उपलब्ध गराउनुपर्ने र प्रहरीले पनि आफ्नो कार्यसम्पादनमा सर्वसाधारण नागरिकहरुको समस्या समाधानका लागि प्रभावकारी रुपमा कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रहरीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सुशासनको एउटा पाटो भएको बताउँदै जिल्लामा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासन लागिपरेको बताउनुभयो । उहाँले अवरुद्ध बेनी–दरबाङ सडकमा खसेको पहिरो हटाएर सडक सञ्चालनको पहल भैरहेको बताउँदै आगामी दिनमा सार्वजनिक सेवा प्रवाहलाई थप परिस्कृत बनाएर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सागर पौडेलले गर्नुभएको थियो ।

Leave a Reply