बेनी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।

गलेश्वरधामका दर्शन गर्न आउने आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई लक्षित गरी पुस्तकालय स्थापना गरिएको हो । पुस्थकालयमा हिन्दु धर्मको संविधान मानिने निर्णय सिन्धु, धार्मिक सन्तुष्टी प्राप्त हुने सुख सागर लगायत हिन्दु धर्मका धार्मिकग्रन्थ लगायत ५ सय बढी पठन सामग्री रहेको छ । झण्डै ५ हजार पुस्तक संग्रह गर्ने लक्ष्य राखिएको छ ।

अमेरिका निवासी रघु सुवेदीले धार्मिक पुस्तकालय स्थापनाका लागि ६ लाख ४५ हजार सहयोग गरेका छन् । पुस्तकालयको संरचना बनाउन ३ लाख ४५ हजार र २ लाखको भारतबाट पुस्तक खरिद गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा मन्दिर अवस्थित छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ ।

Leave a Reply