कालीगण्डकी करिडोरअन्तर्गत गण्डकी प्रदेशको लाइफलाइन मानिने बेनी–जोमसोम–कोरला सडकखण्डको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा शनिबार राती माथिबाट खसेको पहिरोले मोटरसाइकल पुरिएको छ ।

बेनी देखि शिखतर्फ जादै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको सो मोटरसाइकलमाथि गुडिरहेको अवस्थामा शनिबार राती पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक भने भागेर ज्यान बचाउन सफल भएका छन् । बेनी-पोखरेबगर सडकखण्डमा महभिर देखि माथिको भिरमा नयाँ पहिरो सिर्जना भएको छ ।

बर्षात बाहेक अन्य समयमा पनि उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले आवतजावतमा सर्तकता अपनाउनुपर्ने देखिएको अन्नपूर्ण गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।उनका अनुसार सडकखण्डमा भीरबाट पहिरो खस्ने समस्याले यात्रालाई थप जोखिमपूर्ण बनेको छ ।

यसैबीच बेनी–जोमसोम कोरला सडक आयोजनाले आइतबार बिहान सडक विभागको डोजर परिचालन गरेर मोटरसाइकल निकाल्नुका साथै अवरुद्ध सडक खुलाएको छ । आइतबार बेनी–जोमसोम सडक सूचारु रहेको छ । रात र भरिको समयमा बेनी जोमसोम सडकमा यात्रा नगर्न स्थानीय प्रशासन र बेनी जोमसोम कोरला सडक आयोजनाले अनुरोध गरेको छ।

पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्म २ सय २ किलोमिटरको दूरीमा बेनी–जोमसोम–कोरला सडक योजनामार्फत विभिन्न प्याकेजमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भैरहेको छ । तस्विर सौजन्य ः रुपल पुर्जा

Leave a Reply